धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरुले छनौट गरेका उत्कृष्ट विभाग र शिक्षकहरुलाई सम्मान गरिएको छ। 

परिक्रमा विद्यार्थी परिवारको आयोजनामा शनिबार अडोटोरियम हलमा आयोजित २७ औं बार्षिक अंक परिक्रमा लोकार्पण कार्यक्रमसँगै उत्कृष्ट विभाग र शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं निमित्त उपकुलपति प्रा.डा. सञ्जिवकुमार शर्मासहित परीक्षा डिन प्रा.डा.कृष्ण पोखरेललगायत अतिथिहरुले परिक्रमाको नयाँ प्रकाशित अंक लोकार्पण गरेका थिए ।

सोही कार्यक्रममा एमबिबिएस, बिडिएसका अन्तिम बर्षका विद्यार्थीहरुले मत दिएर छनौट भएका उत्कृष्ट विभाग र शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । अन्तिम बर्षका विद्यार्थीहरुले पढाई सकेर विदाई हुदै गर्दा भोटिङ गरेर उत्कृष्ट विभाग र शिक्षकहरु छनौट गर्ने गरेका छन् । विद्यार्थीहरुको मतदानसँगै शिक्षण, निर्देशन र विद्यार्थीमैत्री वातावरण देखाएको आधारमा विभाग र शिक्षकहरुलाई सम्मान प्रदान गरिदै आएको छ । 

यसपाली क्लिनिकलतर्फ अर्थोपेडिक विभाग र नन्क्लिनिकलतर्फ एनाटोमी विभाग उत्कृष्ट भएको छ भने डेन्टलबाट ओरल एण्ड मेक्सिलोफेसियल सर्जरी विभाग र नर्सिङतर्फ ५ वटा विभागमध्ये चाइल्ड हेल्थ नर्सिङ विभागले उत्कृष्ट अवार्ड हात पारेको चाइल्ड हेल्थ नर्सिङ विभाग प्रमुख प्रा.उपेन्द्र यादवले जानकारी दिए । विभागको उत्कृष्ट सम्मान यादवले ग्रहण गरेका थिए ।

यस्तै, वेष्ट टिचर अवार्डतर्फ क्लिनिकलमा इन्टरनल मेडिसिन विभागका डा.रविन मास्के, नन्क्लिनिकलमा एनाटोमी विभागबाट लक्ष्मण खनाल, डेन्टलतर्फ ओरल एण्ड मेक्सिलोफेसियल सर्जरी विभागका डा.मेहुल राजेश जैसली र नर्सिङबाट रम्भा सिग्देलले बेष्ट टिचर अवार्ड हात पारेका छन् । कार्यक्रम परिक्रमा विद्यार्थी परिवारका अध्यक्ष आरभ शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रममा इन्टर्न विद्यार्थीहरुलाई विदाई पनि गरिएको थियो ।