धरान: मुक्कुमलुङ बचाउ आन्दोलनको क्रममा आइतबार धरानबाट पक्राउ परेका ६ जनालाई प्रहरीले म्याद थप गरेको छ ।
हिजो आइतबार साझ नै छोड्ने समझदारी भए पनि प्रहरीले सुमन चेम्जोङसहित ६ जनालाई छोडेन । आज सोमबार दिउसो छोड्ने आश्वासन पाए पनि पक्राउ परेकाहरुलाई प्रहरीले ७ दिनको म्याद थपेको छ । म्याद थप गरेको जानकारी पाए पछि अहिले सयौंको संख्यामा आन्दोलनकारीहरु इलाका प्रहरी कार्यालय धरानमा पुगेका छन् ।
भानुचोकमा दोस्रो दिनको ९ जिल्ला लिम्बुवान बन्दको समापन गरेपछि आन्दोलनकारीहरु सामुहिक गिरफ्तारी दिन गएका हुन् । विनाकारण समातिएका आफ्ना साथीहरू नछाडेसम्म गिरफ्तारी दिइरहने नागरिक उन्मुक्ति पार्टीका नेता अमर इजमले बताए । उनका अनुसार गृहमन्त्रालयमा दुवै पक्षका वार्ता टोलीबीच वार्ता भैरहेको छ, त्यो वार्ताको निचोड आएपछि मात्रै भोलि मंगलबारदेखीको आमहडताल के गर्ने भनेर प्रष्ट हुने उनले बताए ।