धरान: बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लिएकाहरुलाई माघ ३० गतेभित्र चुक्त गर्न प्रहरीले सुचना जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको अपराध अनुसन्धान शाखाले एक सुचना जारी गर्दै सहकारीबाट लगानी भएको ऋण रकम असुल गरी सहकारी संस्थाबाट सञ्चालनमा रहेको खातामा जम्मा गर्नुपर्ने भएकोले ऋण लिएका सम्पुर्ण व्यक्तिहरु माघ ३० गतेसम्म यस (प्रहरी) कार्यालयमा सम्पर्कमा आउन भनेको छ ।
प्रहरी कार्यालयले ऋण चुक्ता गर्न उपस्थित नभए कानुन वमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ । ‘उक्त सहकारी संस्थाबाट ऋण लिनुहुने सम्पुर्ण व्यक्तिहरु चुक्ता गर्ने प्रयोजनको लागि मिति २०८१/१०/३० गतेसम्म यस कार्यालयमा उपस्थित हुनुहुन तथा उपस्थित नभएमा कानुन वमोजिम हुने व्यवहोरा सबैमा जानकारीको लागि हार्दिक अनुरोध छ,’ सुचनामा भनिएको छ ।
बराह सहकारीसहित बराह ग्रुप अफ कम्पनीले १४ अर्बभन्दा बढी रकम ठगी तथा अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । पीडित वचतकर्ताहरुकोतर्फबाट शंकर थापा क्षेत्रीले जाहेरी दिएका थिए । प्रहरीले सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरको मुद्दामा केही सञ्चालक, कर्मचारी र सञ्चालकको श्रीमतिलाई पक्राउ गरेको थियो । प्रहरीले सोही मुद्दामा पीडित वचतकर्ता, शेयरधनीहरुलाई मुद्दाको म्याद अन्तिम हुन लागेकोले माघ ३० गतेभित्र कानुन वमोजिम जाहेरी दरखास्त दिन पनि आग्रह गरेको छ ।