धरान: माघ १९ गतेदेशि जारी २५ औं बुढासुब्बा गोल्डकपमा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ । 

आयोजक धरान फुटबल क्लबले एक विज्ञप्ती जारी गर्दे आज बिहान बसेको बैठकले पार्किङ निःशुल्क गर्ने निर्णय भएको जनाएको छ । क्लबले दर्शकहरुको सवारीसाधन हराएमा वा टुटफुट भएमा त्यसको जिम्मेवारी नलिने पनि प्रष्ट पारेको छ । 

पार्किङ शुल्क लिएको बिषयमा सामाजिक सञ्जालमा आलोचना भएपछि क्लबले आज बिहान बैठक बसेर यस्तो निर्णय लिएको हो । खासगरि नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले गोल्डकप हेर्न आउने दर्शकलाई अवैधरुपमा पार्किङ शुल्क लिएको र बुझेर कारबाही गर्ने भन्दै हिजो (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए ।

क्लबका अनुसार दर्शकहरुलाई रंगशाला बाहिर पार्किङ गरेर ढुक्कले खेल हेरेर मनोरञ्जन लिउन् भन्ने उद्देश्यले सवारीसाधनको सुरक्षाको लागि पार्किङ शुल्क लिइएको हो । उक्त पार्किङ शुल्कको रकम आयोजक क्लबले लिने नभै धरानका खेलकुद सम्बद्ध तथा सामाजिक संघसंस्थाहरुलाई आर्थिक सहयोग पुगोस् भनेर पार्किङको जिम्मेवारी दिइदै आएको पनि क्लबले जनाएको छ । 

यसपाली धरान १९ स्थित युवा जागृति फुटबल क्लबलाई पार्किङको जिम्मेवारी दिइएको पनि क्लबका अध्यक्ष प्रताप तामाङले विज्ञप्तीमार्फत जानकारी दिएका छन् । ‘क्लबले पार्किङबाट कुनै पनि रकम लिएका छैनौं, र हालसम्म लिने पनि गरेको छैनौं,’ विज्ञप्तीमा भनिएको छ,‘बुढासुब्बा गोल्डकप धरानको पहिचान हो भन्ने कुरा व्यापकरुपमा सुनिने गरेको छ । तसर्थ, यस पहिचानलाई जोगाउने हो भने इमान्दारीपुर्वक सबैले सहयोग गर्नुपर्छ भन्ने हाम्रो बुझाई हो । अन्यथा गोल्डकपको निरन्तरताबारे हामीले दुविधा महशुस गर्न थालिसकेका छौं ।’

busu1 2