धरान: २५ औं बुढासुब्बा गोल्डकपको फाइनलमा भोली शनिबार साविक विजेता न्युरोड टिम (एनआरटि) र चर्च ब्वाईज युनाइटेडबीच उपाधि भिडन्त हुदैछ ।

धरान १६ स्थित रंगशालामा हुने फाइनल भिडन्त दुवै टोलीको लागि ऐतिहासिक यसकारण पनि हुनेछ, एनआरटिलाई फाइनल जितेर उपाधि जोगाउने चुनौती छ । एनआरिटले १० औं सँस्करण पनि जितेको थियो । पहिलो पटक बुढासुब्बाको फाइनल खेलिरहेको चर्च ब्वाइज उपाधि उचालेर नयाँ विजेताकोरुपमा इतिहास रच्न चाहन्छ । चर्च ब्वाई ए डिभिजन लिग च्याम्पियन टोली पनि हो । त्यसैले शनिबारको खेल प्रतिस्पर्धात्मक एवं रोमाञ्चक हुनेछ ।

यो सिजनमा एनआरटि र चर्च ब्वाइज चौथो पटक भिड्न लागेको हो । यसअघि २ वटा फाइनल खेलेकोमा दुवै टोलीले एक एक वटा उपाधि जितिसकेको छ । त्यसैले पनि दुवै टोली लयमा छन् । झापा कपमा चर्च ब्वाइजले ३–१ ले जित हासिल गर्दै उपाधि जितेको थियो भने इलाम गोल्डकपमा ३–० को नतिजा निकाल्दै एनआरटिले उपाधि जितेको थियो । हिजो (बिहिबार) पोखरामा प्रिक्वार्टरफाइनल खेलमा सडन डेथमा चर्च ब्वाइजले एनआरटिलाई हराएको थियो ।

एनआरटिका टिम मेनेजर श्याम माली गत बर्षको च्याम्पियन टोली भएको र टिम उत्कृष्ट लयमा भएकोले पनि शनिबार फाइनल जित्ने दाबी गर्छन् । ‘टिम सेट राम्रो छ, खेल पनि राम्रो खेलिरहेको छौं । जित स्वभाविक छ,’उनले भने,‘चर्च ब्वाइज पनि वलियो टिम हो, तर हामी फर्ममा छौ, टिमवर्क पनि राम्रो छ ।’ टिम क्याप्टेन सरोज घिरिङले पनि टिमसेट राम्रो भएकोले उपाधि जित्ने दाबी गरे ।

चर्च ब्वाइजका कोच सुमन श्रेष्ठले एनआरटि राम्रो टिम भएपनि आफुहरुले जित्ने दाबी गरे । एनआटिसँग विगतमा खेलेको अनुभव र जित पनि हासिल गरेको कारण बुढासुब्बाको फाइनलमा पनि जित्ने बताए । ‘हाम्रो टिमसेट राम्रो छ, यहाँ पहिलोपटक फाइनल खेल्न लागेकोले पनि जित्नुपर्छ भन्ने उत्साह, आत्मवल छ,’उनले भने । क्याप्टेन अनन्त तामाङले पनि मेहनत गरेर खेल्ने र उपाधि चुम्ने बताए ।