धरान: यही माघ २८ गतेदेखि कोशी प्रदेशस्तरीय प्रिमियर लिग हुने भएको छ ।
कोशी प्रदेश फुटबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दे माघ २८ गतेदेखि फागुन ८ गतेसम्म धरान १६ स्थित रंगशालमा प्रिमियर लिग हुने जानकारी दिएको हो । संघका अध्यक्ष किशोर राईका अनुसार यो प्रतियोगिता राष्ट्रिय लिग ए डिभिजन खेल्नको लागि छनौट प्रतियोगिताकोरुपमा हुनेछ ।
यो प्रतियोगितामा कोशी प्रदेशमा संघमा आवद्ध भएका ११ जिल्लाका च्याम्पियन क्लबहरुले सहभागिता जनाउनेछन् । प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमले अन्तर प्रादेशिक लिगको लागि छनौट हुने पनि अध्यक्ष राईले जानकारी दिए । ‘जिल्लाका क्लबहरुलाई स्तरीय प्रतियोगिता खेल्न अवसर प्रदान गर्न आगामी कोशी प्रदेशमा हुने अन्र्तराष्ट्रिय आमन्त्रण गोल्डकप र राष्ट्रियस्तरका प्रतियोगितामा पनि समावेश गराउने व्यवस्था गर्नेछौं,’ उनले भने ।
प्रतियोगिताको उद्घाटन दिउँसो २ बजे कोशी प्रदेशका पर्यटन, वन वातावरण मन्त्री षडानन्द मण्डलको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ । उद्घाटन खेल सुनसरी च्याम्पियन धरान फुटबल क्लब र ताप्लेजुङको प्रगतिशिल युथ क्लबबीच हुनेछ ।
प्रतियोगिताको गु्रप एमा लोहोरुङ फुटबल क्लब संखुवासभा र पाँचथर युएफसि पाँचथर रहेको छ भने ग्रुप बि मा गाईघाट एफसि उदयपुर, लाइबेरी एफसि भोजपुर र सम्राट स्पोर्टिङ एफसि मोरङ रहेको छ । यस्तै, ग्रुप सिमा देउराली एफसि धनकुटा, धाइजन चाराली एफसि झापा र रेडहर्स एफसि इलाम रहेको छ ।
ग्रुप डिमा धरान एफसि सुनसरी, प्रगतिशिल युथ कलब ताप्लेजुङ र बुईपा ११ एफसि खोटाङ रहेको छ । ग्रुप ए मा भएको टिमले एउटा मात्र लिग खेल खेल्नेछ भने अन्य ग्रुपका टिमले २/२ वटा खेल खेल्नुपर्नेछ । प्रत्येक ग्रुपको अंक तालिकामा शीर्षस्थानमा रहेको टोली मात्र लिगको अन्तिम चारमा प्रवेश पाउनेछ ।
प्रतियोगितामा कुल ४१ लाख आम्दानी र ३८ लाख २० हजार खर्च हुने अनुमान गरिएको छ । लिगको प्रथम पुरस्कार २ लाख नगद, दोस्रो पुरस्कार १ लाख ५० हजार, तेस्रो पुरस्कार १ लाख २५ हजार र चौथो पुरस्कार १ लाख रुपैया रहेको छ । उत्कृष्ट खेलाडीले नगद ५० हजार पाउनेछन् भने उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्टाइगरले जनही नगद १५ हजार पाउनेछन् । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद ५ हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको तयारी खर्च वापत पहाडी जिल्लाका ७ टिमले ६० हजारको दरले बजेट पाउनेछन् भने तराईका चार जिल्ला झापा, मोरङ, सुनसरी र उदयपुरले ५० हजारको दरले बजेट पाउने संघका अध्यक्ष राईले जानकारी दिए ।