धरान: चर्चित वैज्ञानिक डा.महावीर पुन पुस्तककोरुपमा प्रकाशित आफ्नो आत्मकथा बिक्री गर्न धरान आइपुगेका छन् ।
उदयपुरबाट कोशी तरेर सुनसरी प्रवेश गरेका पुन बराहक्षेत्र नगरमा बिक्री सकेर धरान आइपुगेका हुन् । बिहिबार राती धरान आइपुगेका उनले आज (शुक्रबार) बिहानैदेखि विभिन्न स्थान तथा स्कुलहरुमा पुगेर आफ्नो आत्मकथा बिक्रीवितरण गरिरहेका छन् । उनको पुस्तक महावीर पुन (सम्झना, सपना र अविरल यात्रा) लाई राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको छ । यो केन्द्रका संस्थापक पुन आफै हुन् ।
बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनको लागि आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न डा.पुन आफ्नो पुस्तक बिक्री गर्ने अभियानमा निस्किएका हुन् । सरकारले आवश्यक बजेट विनियोजन नगरेपछि आफ्नो पुस्तक बिक्रीको रकमले उक्त कारखाना सञ्चालनमा ल्याउने उनले बताउदै आएका छन् ।
पुनलाई बिहानै धरानका मेयर हर्कराज राई (साम्पाङ) ले ग्रीन टिमा स्वागत गरेका थिए । पुनको पुस्तक बिक्री अभियान त्यहीबाट शुरुवात भएको थियो । ग्रीन टि पश्चात उनी धरान १८ स्थित कार्मेल हाई स्कुल, धरान १२ स्थित सुनाखरी एकेडेमी, धरान १ स्थित विजयपुर माविमा पुगेका थिए ।
उनले ती विद्यालयहरुमा आफु पुस्तक बिक्री गर्न हिड्नुको कारण तथा उद्देश्यबारे पनि विद्यार्थीहरुलाई प्रष्ट परेका थिए । विद्यालयपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेनगेट बाहिर, धरान १९ स्थित काङ्सोरे चोक र साँझमा भानुचोकस्थित घण्टाघरमा पुस्तक बिक्री गर्न पुगेका थिए । उनी केही दिन धरानमा रहेर पुस्तक बिक्री गर्नेछन् ।
४० जिल्लामा १ लाख ६० हजार पुस्तक बिक्री
डा.पुनका अनुसार उनी पुस्तक बिक्री गर्न हिडेको ३ सय २० दिन भइसक्यो । यो अवधिमा उनले विभिन्न ४० जिल्लामा पुगे, र अहिले सुनसरीको धरान आइपुगेका छन् । यो अवधिमा १ लाख ६० हजार जति पुस्तक बिक्री भएर ९, १० करोड जम्मा भइसकेको पनि डा.पुनले जानकारी दिए ।
‘अब ३७ जिल्लामा बेच्नु छ, मोटामोटी अनुमान गरेअनुसार करिब २० करोड रुपैयाको किताब बेचिन्छ,’ सुनाखरी एकेडेमीमा सम्बोधन गर्दै उनले भने,‘२० करोड जम्मा गरेर के गर्ने ? त्यसको उद्देश्य फरक छ, किताब बेच्नेको उद्देश्य फरक छ, संसारमा कति लेखेका छन्, कतिले बेचेका छन् । तर यो किताब बेच्नुको उद्देश्य कृषि ओजार कारखाना चलाउने भन्ने छ, अरुको उद्देश्य जस्तो होइन ।’
पुनले उक्त कारखाना नेपाल सरकारको भएपनि विगत ३० बर्षदेखि बन्द रहेको बताए । ‘कारखाना चलाएर के गर्ने भन्दा किसानहरुलाई औजार बनाउने हो । नेपालको साना किसानहरुको लागि हो । जनसंख्याको ८० प्रतिशत जनता किसान नै हो, ती मध्ये अधिकांश साना किसानहरु छन्,’ पुनले भने,‘उनीहरुलाई मद्दत गर्न यो कारखाना चलाउन खोजेको हो । पैसा कमाउने उद्देश्यले कारखाना चलाउन खोजेको होइन, किसानहरुलाई सेवा गर्ने उद्देश्य हो ।’
यस्तै, डा. पुनले विद्यार्थीहरु र युवाहरुको सोचाईलाई परिवर्तन गर्ने प्रयासमा पुस्तक बिक्री गर्न आएको पनि बताए । युवा तथा विद्यार्थीहरुलाई प्रेरणा दिलाउन पुस्तक लेखेको र आफै बिक्री गर्न हिडेको पनि उनले बताए । ‘बाँच्नको लागि संघर्ष गर्नुपर्छ भन्ने प्रेरणा दिनको लागि यो किताब लेखेको हो । यसमा जिवनमा गरेको संघर्षका कथाहरु लेखेको छु, बाल्यकालमा कसरी संघर्ष गरे, पढ्नको लागि कसरी संघर्ष गरे, अमेरिका कसरी गए, कसरी पढे र फर्केर नेपालमा समाजसेवा गर्न थालेको ३२ बर्ष भयो, अनौठो किसिमले संघर्ष गर्नुपर्ये, सबै कुरा लेखेको छु,’ उनले भने,‘जीवनमा देखेको असम्भव लाग्ने सपनाहरु कसरी पुरा गरे ? कति सपना पुरा भए, कति असफल भए, विद्यार्थीहरुले बुझ्ने भाषामा लेखेको छुँ ।’
भिडियो:
भिडियो:
भिडियो: