धरान: धरान मदिरा व्यवसायी संघको ११ औं साधारणसभा मोरङको केराबारीमा सम्पन्न भएको छ ।
केराबारी गाउँपालिका वडा नं। ६ स्थित कालिज फर्ममा आयोजित साधारणसभाको उद्घाटन मदिरा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अंशु बन्जरालाले गरेका थिए । प्रमुख अथिति रहेका केन्द्रीय उपाध्यक्ष बन्जाराले देशको विषम परिस्थितिमा पनि मदिरा व्यवसायीहरुले व्यवसाय प्रवर्धनको लागि ठूलो संघर्ष गर्नुपरेको बताए । उनले अनेकौं समस्याको वावजुत पनि मदिरा व्यापारीहरु व्यवसाय गर्न बाध्य हुनुपरेको बन्जराको भनाई थियो । उनले व्यवसायी एकजुट भएर अगाडि बढनुपर्नेमा पनि जोडदिए ।
यस्तै, नेपाल मदिरा व्यवसायी महासंघ कोशीका अध्यक्ष नविन तामाङले राज्यमा सबैभन्दा बढी कर तिर्ने मदिरा व्यवसायीहरु भएपनि राज्यबाट व्यवसायिक सुरक्षाका लागि कुनै नीति नबनेको गुनासो गरे ।
यस्तै, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले व्यवसायिक हक हित र व्यवसायिक ज्ञानका लागि कर कार्यालय लगायत विभिन्न सम्बन्धित पक्षसँग व्यवसायीहरुलाई समय समयमा छलफल, बैठक गर्दै आएको बताए । उनले व्यवसायिक कामका लागि सबै संघसंस्थासँग सहकार्य गरेर अगाडि बढ्ने पनि बताए ।
यस्तै, इटहरी मदिरा व्यवसायी संघका अध्यक्ष राजन राईले सरकारको नीति स्पष्ट नभएकै कारण मदिरा व्यवसायीहरु विस्थापित हुने क्रम बढेकोप्रति चिन्ता व्यक्त गरे । उनले व्यवसायीहरु एकजुट भएर संस्थागत रुपमा अगाडि बढ्नुको विकल्प नरहेको बताए ।
धरान मदिरा व्यवसायी संघका अध्यक्ष लिलकुमार माझीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संघका सचिव जीवन शाही र कोशाध्यक्ष विनित अग्रवालले बार्षिक आयव्यय प्रस्तुत गरेका थिए।
सो अवसरमा पुराना व्यवसायी एवम् समाजसेवी मनोज अग्रवाल, गोर्खा ब्रअरी प्रालिका प्रतिनिधि हेमराज दाहाल, पत्रकार गोविन्द बस्नेतलगायतलाई सम्मान गरिएको थियो भने नेपाल पत्रकार महासंघ सुनसरीका नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्लेलाई कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरिएको थियो ।