धरान: धरान १५ स्थित शिक्षा सदन मावीले ६९ औं वार्षिकोत्सब तथा अभिभावक दिवस शनिबार भव्यतापुर्वक मनाएको छ ।

उक्त समारोहका प्रमुख अथिती एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारी विद्यालयहरूलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनुपर्नेमा जोडदिएका थिए । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सामुदायिक विद्यालयको सुधार गरेर अघि बढेमा शैक्षिक सुधार हुने बताए ।

उनले अहिले नै निजी विद्यालयहरू बन्द गर्न सम्भव नभएको उल्लेख गर्दै त्यतातिर लाग्न नहुने पनि बताए । केही मानिसहरुको आवाज निजी विद्यालय बन्द गर्नुपर्ने रहे पनि नेपालको कानुन र संविधानसम्मत ढंगले चलेका विद्यालय चल्न दिनुपर्ने मुख्यमन्त्री कार्कीको भनाई थियो । 'अहिले  नै हामीले आवेगमा निजी विद्यालय बन्द गर्ने  भावनामा बग्यौ भने त्यो राज्यले थाम्न सक्दैन' उनले भने, 'हामी हाम्रा विद्यालयहरुलाई नै सुधार गर्न लागौँ।'

20250301_155907

मुख्यमन्त्री कार्कीले सरकारी विद्यालयहरूको सुधारका लागि ठूलो लगानी गरिरहेको उल्लेख गर्दै उनले विद्यालय भवन निर्माण, पाठ्यपुस्तक उपलब्धता, शिक्षक तलब तथा छात्रवृत्तिजस्ता क्षेत्रमा व्यापक खर्च भइरहेको जानकारी दिए । विद्यालय व्यवस्थापन समितिहरूले आफ्नो जिम्मेवारी सही रूपमा जिम्मेवारी निर्वाह गर्न सकेमा सरकारी विद्यालय पनि निजी विद्यालयभन्दा कम नहुने धारणा उनको थियो ।

मुख्यमन्त्री कार्कीले धरानको प्रमुख समस्या पानी रहेको उल्लेख गर्दै प्रदेश सरकार यसको समाधानमा प्रतिबद्ध रहेको बताए । उनले गतवर्ष चारवटा डिप बोरिङ निर्माण गरिएकाले केही सहज भएको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि संघीय सरकारसँग समन्वय भइरहेको जानकारी दिए । कार्यक्रममा जेहेन्दार, दलित तथा प्रथम भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो।