धरान: सुनसरीको इटहरी उपमहानगरपालिका वडा ६ स्थितमा सेन्टर प्लाजामा भएको आगलागी करिब पाँच घण्टापछि पुर्णरुपमा नियन्त्रणमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान ९ बजेर ४५ मिनेटमा लागेको आगो दिउँसो ३ बजेर ५३ मिनेटमा पुर्णरुपमा नियन्त्रणमा आएको हो । आगलागी भएर भवनमा फसेका ११ जनालाई नै उद्दार गरिएको पनि जिल्ला प्रहरी प्रमुख सुमनकुमार तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार उद्दार गरिएका मध्ये ३ जना घाइतेको इटहरी अस्पतालमा उपचार पश्चात डिस्चार्ज पनि भइसकेका छन् । आज बिहान करिब ९ः ४५ बजे इटहरी ६ स्थित सेन्ट्रल प्लाजाको पाँचौ तलामा आगलागी शुरु भएको थियो । उक्त भवन १० तलाको रहेको छ । 

आगलागी भएपछि करिब १२ सम्म ८ पुरुष र ३ महिला गरी ११ जनाको उद्दार गरिएको थियो । उद्दार गरिएकाहरुमा भोजपुर जिल्ला आमचोककी २३ बर्षीया मेरिका राई, कैलालीकी २६ बर्षीया लक्ष्मी श्रेष्ठ, सुनसरी बराहक्षेत्र ५ का २६ बर्षीय बिजय धामी, काभ्रे जिल्लाका बिष्णु तामाङ, वंगलादेशका एमडि जय, धनुषा जिल्लाको कमला ९ का ४४ बर्षीय संजय जैसवाल रहेका छन् । 

यस्तै, सुनसरीको रामधुनी ७ का २४ बर्षीय आशिष चौधरी, मोरङ जिल्ला बिराटनगर १५ की २४ बर्षीया दिया राय र उनका श्रीमान् २८ बर्षीय बिशाल सिंहको पनि उद्दार गरिएको प्रहरीले जनाएको छ । उद्दार भएका अन्य २ जनाको परिचय भने खुल्न बाँकी रहेको छ । उद्दार भएका मध्ये रामधुनीका आशिष, विराटनगर १५ की दिया र उनका श्रीमान् बिशालको भने इटहरी अस्पतालमा उपचार पस्चात डिस्चार्ज भएका हुन् । 

ठुलो संख्यामा प्रहरी, सेना र सशस्त्र परिचाल

आगलागी नियन्त्रण लिन तत्कालै इटहरीका डिएसपी लक्ष्मी भण्डारीको कमाण्डमा २५ जना प्रहरी खटिएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट प्रहरी बरिष्ठ उपरीक्षक भीम दाहाल, सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाको कमाण्डमा करिब ७० जना थप मद्दत टोली पनि पुगेको थियो ।

यस्तै, सशस्त्र प्रहरी ४ नं। हेडक्वाटरबाट सशस्त्र प्रहरी उपरीक्षक निमल कुमार थापाको कमाण्डमा ७७ जना, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय इटहरीबाट प्रहरी उपरीक्षक बिनोद घिमिरेको कमाण्डमा ७५ जना टोली खटिएको थियो । यस्तै, आर्मीको भगवती दल इटहरीबाट सेनानी शुबसम्शेर जबराको कमाण्डमा ५० जना, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीबाट प्रहरी नायब निरीक्षक गजेन्द्र कटवालको कमाण्डमा ५० जना थप सुरक्षाकर्मी परिचालन भएको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

*शिर्षकमा सेन्टर हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।  सम्पादक