जीवनमा कहिले कही आकस्मिकरुपमा यात्रामा निस्कनुपर्ने परिस्थिति बन्छ । कहिले कही अगाडि नै योजना बनायो, अन्तिम क्षणमा रद्द गर्नुपर्ने अवस्था पनि हुन्छ । कहिले चै विना योजनाको यात्रामा निस्कनुपर्ने आकस्मिकता जीवनमा आइपर्छ ।
यो मंगलबार अर्थात चैत १२ गते यस्तै आकस्मिकता आइपर्यो । सोमबार रात्रीकालिन गोधुली रनिङ कपमा वडा नं १८ र वडा १९ को खेल थियो । यसपाली गोधुलीको २५ औं सँस्करण राती आयोजना भइरहेको छ । सधै झैं म रिपोर्टिङको लागि धरान १६ स्थित रंगशाला पुगेको थिए । खेल वडा नम्बर १८ ले जित्यो ।
खेलाडीलाई बधाई दिन प्लेयर बक्समा पुग्नुभएका वडा नम्बर १८ का वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) सँग भेट भयो । मैले बधाई दिएँ, उहाँले बधाई थाप्दै मलाई पो सरप्राइज दिनुभयो, ‘भोली बिहान र्याफ्टिङ जानुपर्छ है, नाम टिपेका छौं । फोन गर्न पाएको थिइनँ ।’ त्यसो भन्दैगर्दा साथमा कार्यपालिका सदस्य विकास भाटी पनि सँगै हुनुन्थ्यो।
दाईको कुराले केहीबेर के भन्ने भनेर अलमलिए । रातीको १० बजिसकेको थियो । सल्लाह र जानकारी विना बिहानै ६ बजे हिड्दा सविता जी पो रिसाउला कि भन्ने लाग्यो । एक साताअघि बेलायतबाट आएका भाईहरुसँग र्याफ्टिङ जाने पारिवारिक योजना थियो । तर, सानो भाई लेयन अस्वस्थ्य भएपछि हाम्रो योजना तुहियो । प्रविण दाईको अचानकको प्रस्तावलाई केहीबेर सोचेर ‘हुन्छ जाने’ भनेर जवाफ दिए।
बिहान ६ बजे छाताचोकस्थित मदन ढकाल दाईको तमोर रिभर एडभेञ्चरको अफिसमा भेला भएर धनकुटाको मुलघाट पुग्दा झण्डै ९ बजिसकेको थियो । गाडीको यात्रामा हङकङबाट आउनुभएको तारा दाईले स्कुल पढ्दाको कुरा र हङकङका रमाइला किस्साहरु सुनाउदै हसाएर हुरुक्कै बनाउनु भयो ।
हामी ११ जनाको टोली थियौं । कोही परिचित, केही अपरिचित । हङकङबाट आउनुभएका प्रविण दाईको साथीहरु हुनुहुदो रहेछ, र्याफ्टिङ गर्न को को जाने भनेर बिहान मात्र थाह पाएँ । म, वडाअध्यक्ष प्रविण दाई, कार्यपालिका सदस्य विकास भाटी, पत्रकार मित्र विकास चाम्लिङ, रोहित कुलुङ राई एकअर्कामा नजिकबाटै परिचित छौं । हङकङबाट आउनुभएका रमेश दाई र रविन तामाङ भाईसँग पनि परिचित नै थिएँ । तर प्रविण दाईका अन्य साथीहरु तारा लिम्बु, गजेन्द्र लिम्बु, आशिष लिम्बु, हेमराज लिम्बुसँग भने पहिलो पटक भेट हुदैथियो।
मुलघाटमा खाजा खाएर तमोर किनारमा झर्यौ, र तयारीमा जुट्यौं । हाम्रो मुख्य गाइड साइला (हिरा परियार)ले सेफ्टी ब्रिफिङ गरेर बोटिङ गर्न शुरु गर्दा झण्डै १० बजिसकेको थियो । साहसिक खेल पर्यटन र्याफ्टिङको धेरै पटक अनुभव गरेको छुँ । तर पत्रकार मित्र रोहित कुलुङ पहिलो पटक र्याफ्टिङको अनुभव लिदै थिए । ‘म त यहाँ (मुलघाट)सम्मको लागि मात्र भनेर आएको, के गरौं ?’ भनेर सुटुक्क भन्नुभयो । मैले नै ‘हैट, जानुपर्छ’ भनेर हौस्याए । उहाँ थोरै डराएको जस्तो भएपनि हामी सबै अब ३४ किलोमिटर जलयात्राको लागि उत्साहित थियौं ।
भिडियो:
हाम्रो बोटमा प्रविण दाई, विकास भाटी, विकास चाम्लिङ, रोहित कुलुङ र म थिएँ । मुख्य गाइड साइला पनि हामीसँगै । अरु अर्को बोटमा । जलयात्रा भरि प्याडल चलाउदै गाइड साइलाको निर्देशन ‘फरवर्ड.., स्टप.., फाष्टर फरवर्ड.., अल ब्याक.., गेट डाउन..’ पालना गरिरह्यौं । हाम्रो अघि अघि कायक हुन्थ्यो । तमोर नदी नेपालको मस्र्याङ्दी पछिको जोखिमपुर्ण जलयात्रामा पर्ने साइलाले नै सुनाए । साइला २५ बर्षदेखिको अनुभवी गाइड । कार्तिक अन्तिमदेखि तमोर र अरुण नदीमा शुरु भएको र्याफ्टिङको सिजन जेठ १ गते सकेर साइला भारतको मनाली अनि लद्दाख जाने रे गाइड गर्न ।
एक पछि अर्को र्यापिडमा हेलिदा मनमा डर उत्पन्न हुन्थ्यो । कतै बोटबाट खसिन्छ कि भनेर डोरी कस्सिएर समाउदै अनि चिच्याउदै जलयात्राको मजा लिन कुनै कसुर बाँकी राखेनौं । ठुला ठुला छालमा हेलिदा तमोरको चिसो पानीले निथ्रुक्कै भिजाउथ्यो, हामी झन् रोमाञ्चित हुन्थ्यौं ।
ठाउँ ठाउँमा विकास जी र दाईहरु नदीमै पौडी खेल्नुभयो । एक ठाउँमा त रमेश दाई गहिरो पानी छ भनेर जम्प गर्नुभयो, तर घुँडासम्म मात्र पानी । कस्तो कमेडी नै भयो नि ! हामी सबै गलल हास्यौं, दृष्य नै त्यस्तै थियो । धन्न, दाईले पहिला खुट्टा टेकिने गरि जम्प गर्नुभएछ । नत्र हात र टाउको पहिला पानीमा पर्ने गरि जम्प गरेको भए दुवै हात र अनुहार बालुवामा गाडिदा के हुन्थ्यो भन्दै हामी सम्झिएर हाँसेको हाँसेकै भयौं ।
जलयात्राको क्रममा पहिला भएको २ वटा घटना सम्झिएर मैले सुनाए । एक पटक राजेश विद्रोही दाई बोटिङको क्रममा तमोरमा खस्नुभएको थियो । लाइफ ज्याकेट हुनाले अप्रिय दुर्घटना भएन । हामी अर्को बोटमा थियौं, के भयो भनेर सोध्दा हर्ष सुब्बा दाईले माछा मार्न हाम्फालेको रे भन्नु हुदा मरिमरि हाँसेको थियांै । त्यो घटनालाई विकास चाम्लिङ र मैले सम्झिदै सुनायौं ।
अर्को पटक यशोदा भाउजु (हाल अमेरिका) र्यापिडमा आँखै अघिबाट झर्नुभयो । कायकको मद्दतले रेस्क्यु हुनुभयो । उहाँले पछि सुनाउनु भएको थियो, घरमा पुग्दासम्म ज्यान ठिकै थियो तर, भोलीपल्ट बिहान दुःखेर ओछ्यानबाट उठ्नै सक्नु भएन रे ! यो पटक त्यस्तो अनुभव कसैले गर्नुपरेन । तर अर्को बोटमा भएको रविन भाई चै एउटा र्यापिडमा झण्डै झण्डै खसेको ! उनले दुवै हातले डोरी समाते, अरु दाईहरुले पनि तत्कालै हातमा समाएर तानेपछि खस्नबाट जोगिएको हेरेरै हामीले भने मनोरञ्जन लियौं ।
रविन भाईले पक्कै पनि रोमाञ्चक अनुभव गरे भन्ने लाग्यो । पहिलो पटक र्याफ्टिङ गरिरहेका मित्र रोहित कुलुङ यस्तो दृष्य हेर्दा के सोचे कुन्नी, अधिकांश समय हाम्रो बोटको अन्तिममा बसेरै रमाए । मैले जोड गरेपछि मात्र त्रिवेणी आइपुगेर अगाडि बस्नआए । बराहक्षेत्र मन्दिर कटेलगत्तैको अन्तिम र्यापिडमा त डेढ लिटर जति पानी पिए भनेर रमाउदै सुनाउदा एउटै बोटमा भएका सबै हाँस्यौं ।
मैले त्यो र्यापिडलाई जोखिम मोलेरै भएपनि आफ्नो मोवाइलमा कैद गर्न सके । गाइड साइलाले त मोवाइल सेफ्टी बक्सभित्र राख्नु भन्दैथे, तर मैले नै जे पर्ला पर्ला भनेर भिडियो खिच्ने जोखिम मोले । एक हातले मोवाइल समातेर अर्को हातले मात्र डोरी समाउदा शरीरको सन्तुलन बिग्रियो, त्यसै पनि र्यापिडमा बोट पल्टेला जस्तै गरि हल्लियो, हैट ! कस्तो डराएको पनि थिए । यति चिच्चाएछु कि पछि भिडियो हेर्दा आफैलाई कस्तो कस्तो भयो । एक पटक त बोटमा थुचुक्कै बसे पनि ।
वाटर प्रुफ क्यामेरा हुने हो भने त त्यो भन्दा झनै जोखिमपुर्ण र्यापिडको भिडियो कम्ता मजाको हुदैनथ्यो ! तरपनि साइलाले हेल्मेटमा राखेको ‘गोप्रो’ले ठुला ठुला र्यापिडमा भिडियो खिचिदिन्छु भनेकोले ढुक्क थियौं । विगतमा र्याफ्टिङ गरेको भिडियो छैन, फोटोहरु मात्र छन् ।
मुलघाटबाट शुरु भएको जलयात्रा तातोपानी (धनकुटाको महाभारत) भन्ने ठाउँमा बिसायौं । बोकेर लगेको पर्क मिटलाई त्यहाँ बिबिक्यु गरेर टमटारको अचारसँग स्वादिलो गरि खायौं । खाना चै त्रिवेणी नजिकै एउटा घरमा र्याफ्टिङ कम्पनीले भनेको रहेछ, मिठो थियो । गाउँमा लोकल कुराको मासु होला भनेको त बोइलर भन्ने सुनेर शुरुमा झण्डै वेस्वादिलो भएको । धन्न ! दाईहरुले बिबिक्युको पर्क मिट बोक्नुभएको रहेछ, र खाना रुच्यो ।
जलयात्राको क्रममा मनोरञ्जन मात्र हुदैन । प्रकृतिलाई नजिकबाट नियाल्न पनि पाइन्छ । बषौं बर्षदेखि त्यही ठाउँबाट बगिरहेको तमोर नदी, त्रिवेणीमा अरुणसँग मिसिएर सप्तकोशी भएर बग्छ । तमोरमा र्याफ्टिङ भइञ्जेल किनारामा देखिने आकर्षक पत्रपत्रको चट्टान, अचम्म आकृति देखिने बडेमानका ढुंगाहरुले मन लोभ्याउछ । मुर्तिकारले ती ढुंगाहरु भेटे कस्तो कलात्मक बनाउथे होलान् ।
त्रिवेणी आइपुग्ने बेला ठुलो भिरको बीच भएर बग्दा फिल्ममा देखेको दृष्य जस्तै लाग्ने । त्रिवेणीमा किरातीहरुको आस्थाको केन्द्र पवित्र खुवालुङलाई दर्शन गर्यौं, हात जोड्यौं, र आशिर्वाद पनि माग्यौं । चतरा कोशी पुलमा पुग्दा साँझको झण्डै ६ बजेको थियो। बिहान मुलघाटमा पुर्याएको २ वटा गाडी हामीलाई लिन चतरा आइसकेको रहेछ ।