धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको रेफरल सेन्टरकोरुपमा मात्र रहने भएको छ । 

प्रतिष्ठानले स्वास्थ्य बीमा बोर्डको सुचना उदृत गर्दै शुक्रबार अत्यन्त जरुरी सुचना जारी गरेर साउन १ गतेदेखि सिफारिश भएर आएका वीमित विरामीहरुले मात्र उपचार सेवा पाउने जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.अभिजित कुमारका अनुसार वीमाबाट उपचार सेवा लिन इच्छुक विरामीहरुले वीमा बोर्डले तोकेको सम्बन्धित स्वास्थ्य संस्था वा प्रथम सेवा केन्द्रबाट प्राप्त सिफारिश पत्र अनिवार्य लिएर आउनुपर्ने हुन्छ । 

‘पहिला हाम्रो वीपी प्रतिष्ठान प्राइमरी र रेफरल केन्द्र दुवैमा थियो, त्यसैले वीमित विरामीहरु सिधै प्रतिष्ठानमा उपचार गर्न आउदा सेवा पाउनुहुन्थ्यो,’ सहप्रवक्ता डा.अभिजत कुमारले भने,‘वीमा बोर्डले हाम्रो प्रतिष्ठानलाई रेफरल सेन्टरकोरुपमा मात्र समेटेको नोटिस निकालेको छ, प्राइमरी केन्द्र भनेको छैन । बोर्डले जे निर्देशन दिन्छ, हामी त्यसलाई पालना गर्नुको विकल्प छैन ।’

उनका अनुसार यो नियम आगामी साउन १ गतेदेखि लागु हुनेछ । यो निर्णय लागु नगरे प्रतिष्ठानको स्वास्थ्य वीमाको बेरुजु थपिने भएकोले लागु गराउन संस्था बाध्य हुने उनले बताए । ‘स्वास्थ्य वीमामा हाम्रो बेरुजु १० करोड देखिएको छ, यो लागु गरेनौं भने झनै थपिन्छ,’ उनले भने,‘वीमा बोर्डबाट हामीले पछिल्लो २ महिनाको छोडेर भुक्तानी पाउनुपर्ने दाबी रकम पनि ७६ करोड हाराहारी पुगिसकेको छ ।’

वीमा बोर्डका अनुसार असार ८ गतेको बोर्ड बैठकले सरकारीबाहेकका अन्य सेवा प्रदायक स्वस्थ्य संस्थाबाट प्रथम सेवा विन्दु हटाउने र रेफरल सेन्टरकोरुपमा रहने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सुनसरीबाट ३ वटा स्वास्थ्य संस्थालाई मात्र रेफरल सेन्टरकोरुपमा सुचीकृत गरिएको छ । सुचीकृत संस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सप्तकोशी न्युरो हस्पिटल र नवदृष्टि आँखा हस्पिटल प्रालि रहेको छ । यी तीन सेवा प्रदायक स्वास्थ्य संस्थामा वीमित विरामीले सिधै पहिलाको जस्तो उपचार सेवा पाउन सक्दैनन् । 

उनीहरुले बीमा बोर्डले सुचीकृत गरेको प्रथम सेवा विन्दुबाट सिफारिश पत्र लिएर आएमात्र वीपी प्रतिष्ठानमा उपचार सेवा पाउनेछन् । धरानमा प्रथम सेवा विन्दुकोरुपमा सेवा दिने अन्य कुनै सरकारी अस्पताल छैन । ‘यो नीति हाम्रो होइन, बीमा बोर्डको भएको स्पष्ट पार्न चाहन्छु,’ प्रतिष्ठानका सहप्रवक्ता डा.अभिजितले भने ।

bpkihs bima

bpkihs bima1