धरान: कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धरानको साहित्य, गीत, संगीतको उन्नयनको लागि प्रदेश सरकारबाट सहयोग रहने बताएका छन् ।

विश्व संगीत दिवसको अवसरमा शनिबार धरानको भानुचोकमा आयोजित सांगीतिक कार्यक्रमको उद्घाटन समारोहलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै मन्त्रीले यस्तो बताएका हुन् । धरान संगीत प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मन्त्री राईले धरानले साहित्य, संगीत, कलाको क्षेत्रमा अगुवा श्रष्टाहरु हुर्काएको उल्लेख गर्दै कोशी प्रदेशकै गौरव भएको बताए । 

मन्त्री राईले धरानको साहित्य, कला, संगीतको विकास तथा उन्नयनको लागि सरकार साथमा रहेको बताए । ‘कला, साहित्य, संगीतमा धरानको नाम सदैव उच्च छ,’मन्त्री राईले भने । उनले प्रतिष्ठानको भवनको लागि आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्न ढिलाई भएको खुलाउदै अर्को आर्थिक बर्षमा समयमा नै प्रस्ताव आए सहयोग गर्ने बताए । 

pachkarna rai1


उनले भने,‘आर्थिक बर्ष २०८२/०८३ को बजेट त आइसक्यो । यो पटक इटहरीलाई बजेट दिएका छौं । भवनको लागि यहाँबाट निवार्चित सांसद ज्युहरुमार्फत पनि आउनुभयो भने २०८३/०८४ को बजेटमा दिनसक्छौं । तर समयमा प्रस्ताव आउनुपर्छ ।’

मन्त्री राईले विश्व शान्तिको लागि संगीत दिवस २१ जुनमा विश्वभर मनाइरहेको र वर्तमान समयमा इरान–इजराईल युद्ध पनि चलिरहेको कारण यो दिवस मनाउनु झन् सान्दर्भिक भएको बताए । ‘युद्ध रोकियोस्, विश्वभरि शान्ति छाओस् । अहिले विश्वले शान्ति खोजिरहेको छ,’उनले भने ।

music day2


आयोजक प्रतिष्ठानका अध्यक्ष एवं धरान वडा नं २ का अध्यक्ष रमेश राईले कार्यपालिका बैठकले संगीत प्रतिष्ठानलाई जग्गा उपलब्ध भइसकेकोले भवन निर्माणको लागि प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेको बताएका थिए । प्रतिष्ठानले हाल नयाँ गायन प्रतिभाहरु जन्माउन प्रशिक्षण पनि दिइरहेको अध्यक्ष राईको भनाई थियो ।  कार्यक्रममा प्रमुख अतिथि मन्त्री राईसँगै प्रदेश सांसदहरु रमेश बस्नेत, विजय राई, यशोदा कायस्थ, धरानका उपमेयर अइन्द्रबिक्रम बेघा, विभिन्न वडाका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा चर्चित गायक दिप श्रेष्ठ, मिलनसिंह खाती, प्रतिष्ठानका अध्यक्ष रमेश राई, नविन राई, क्यामरिन माझी, रोशन लिम्बु, मुना सुन्दास, अनिस राई, मेरी शाक्य, अजय राई, गगन आले मगर, कृष्णराजा श्रेष्ठ, मोनिका कट्टेल, करुणा विश्वकर्मा, नविन दर्नाललगायतले पनि गीत गाएका थिए । यस्तै, संस्थापक र पुर्वअध्यक्षहरुलाई सम्मान पनि गरिएको थियो ।

music day7

music day6

music day1

music day5

music day4

music day3

music day