धरान: वाइसीएल नेपाल कोशी प्रदेश समितिले श्रम अभियान सुरु गरेको छ ।
वाइसिएल सुनसरीको सहकार्य र वाइसिएल धरान उपमहानगर समितिको व्यवस्थापनमा धरान २० स्थित कालिखोला सामुदायिक वनमा बिहिबार वृक्षारोपण र सरसफाइ गरि अभियानको उदघाटन गरेको हो । कार्यक्रममा संविधानसभा सदस्य एवं पार्टीका केन्द्रिय सदस्य किरण कुमार राई, नेता मुक्साहाङ मेन्याङ्बो (मुकेश)लगायत पनि सहभागी भएका थिए ।
माओवादी केन्द्र निकट वाईसीएलले आजदेखि देशभर ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान सुरु गरेको हो । प्रदेशको १४ जिल्लामध्ये १० जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, खोटाङ, सोलुखुम्बु र उदयपुरमा विभिन्न कार्यक्रम गरि यो अभियान सुरु भएको वाइसिएल कोशीका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिए ।
वाइसीएल इलामको आयोजनमा माइ नगरपालिका २–४ मा अवस्थित नमुना सामुदायिक वन उपभोक्ता समितिमा सरसफाइ, वक्षारोपण, बेसार रोपन गरिएको छ। ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वृक्षारोपण, इँटा लगाउने, नाली सफा गर्ने, चौरको घाँस काटेर अभियानको उद्घाटन गरेका थिए । गत असार १७ र १८ गते बसेको वाईसिएलको पदाधिकारी बैठकले साउन र भदौमा दुई महिने श्रम अभियान चलाउने निर्णय गरेको थियो ।