धरान: स्वास्थ्य बीमा बोर्डले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई प्रथम सेवा केन्द्रको सुचीबाट हटाएर रेफरल सेन्टर मात्र बनाएको विरोधमा र्याली निकालिएको छ ।
नेकपा माओवादी केन्द्रको अगुवाईमा जसपा नेपाल र नेकपा (एकीकृत समाजवादी)समेतको सहभागितामा विरोध र्याली निकालिएको हो । छाताचोकस्थित पुरानो अस्पतालअघिबाट निस्केको र्याली सिंहदेवी चोक, माछाभौडी हुदै भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीको क्रममा स्वास्थ्य बीमाको निर्णय खारेज गर जस्ता नारा पनि लगाइएको थियो ।
असार ८ गते स्वास्थ्य बीमा बोर्डको बैठकले सरकारीबाहेकका अन्य सेवा प्रदायक स्वस्थ्य संस्थाबाट प्रथम सेवा विन्दु हटाउने निर्णय गरेको थियो । साथै, वीपी प्रतिष्ठानलाई रेफरल सेन्टरकोरुपमा मात्र सुचीकृत गर्ने निर्णय बोर्डले गरेको थियो । यो निर्णय साउन १ गतेदेखि लागु हुँदा धरानका विरामीहरु बीमाको सेवा पाउन प्रथम सेवा विन्दु भएको स्वास्थ्य संस्था खोज्दै इटहरी वा बराहक्षेत्र पुग्नुपर्ने र त्यहाँबाट रिफर भएर आउनुपर्ने बाध्यता हुनेछ । किनभने धरानका सरकारी स्वास्थ्य संस्था छैन ।
भानुचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै माओवादी नेता तथा धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले वीपी प्रतिष्ठानबाट स्वास्थ्य बीमाको प्रथम सेवा हटाएर धरानलाई मौलिक हकबाट बञ्चित गरेको भन्दै रोष प्रकट गरे । साथै उनले संविधानले सुनिश्चित गरेको जनताको बाँच्न पाउने हक खोसिए जनताले नै प्रतिवाद गर्ने पनि चेतावनी दिए । उनले भने,‘प्रधानमन्त्री ज्यु, स्वास्थ्यमन्त्री ज्यु, संविधानले प्रदान गरेको मौलिक हक नखोसियोस्, जनताको बाँच्न पाउने अधिकार खोसिन्छ भने प्रतिवाद गर्ने दिन आउछ । सिंहदरबार र बीमा बोर्ड घेराउ गर्न आउनसक्छ, त्यो अगावै निर्णय सच्याउन आग्रह गर्छु ।’
जसपा नेपालका नेता ताजुब लिम्बुले धरानका जनता वीपी प्रतिष्ठानमा वीमाको उपचार पाउन इटहरी वा बराहक्षेत्रमा भएको सरकारी अस्पतालबाट सिफारिश भएर आउनुपर्ने अवस्था बनेको भन्दै विरोध जनाए । उनले वीपी प्रतिष्ठान निजी अस्पताल नभएको र अर्धसरकारी स्वास्थ्य संस्था भएकोले प्रथम सेवा केन्द्रकोरुपमा पनि कायम गर्न आग्रह गरे । सरकारले बीमा बोर्डको निर्णय नसच्याए आन्दोलनका थप कार्यक्रमहरु गर्ने पनि बताए ।
विरोध कार्यक्रमका संयोजक एवं माओवादी केन्द्रका अध्यक्ष उद्धव लिम्बुले पनि बीमा बोर्डको त्रुटीपुर्ण निर्णय सच्याउन आग्रह गर्दै माग सुनुवाई नभए थप आन्दोलन गर्ने बताए । उनले आइतबार प्रतिष्ठानका पदाधिकारीहरुसँग पनि छलफल गर्ने र निर्णय सच्याउन सिडिओ कार्यालयमार्फत स्वास्थ्य मन्त्रालय, बीमा बोर्डमा ध्यानाकर्षण पत्र बुझाउने बताए । ‘त्यसो गर्दा पनि त्रुटीपुर्ण निर्णय सच्याउनुभएन भने धरानका क्रियाशिल राजनीतिक दल, नागरिक समाज, धराने जनता सबै बसेर निर्णय गरेर बीमा बोर्डसम्म पुग्छौं,’ उनले भने ।
भिडियो: