धरान: साँस्कृतिक अधिकार संरक्षण समितिको स्थापना दिवसको कार्यक्रम सकिएको केहीबेरमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
धरान ११ स्वास्तिका चोकस्थित कार्यक्रमस्थलबाट प्रहरीले गोरु काटेर मासु खाएको आशंकामा ७ जनालाई पक्राउ गरेको हो । समितिले हरेक बर्ष साउन ५ गतेलाई स्थापना दिवसकोरुपमा मनाउदै आएको छ । सोही क्रममा सोमबार दिउँसो समितिको कार्यक्रम समापन भइसकेपछिको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने ७ जना को को हुन् भन्ने खुलिसकेको छैन । कार्यक्रम आयोजना गर्ने समिति र सहभागी व्यक्तिहरुका अनुसार कार्यक्रम सम्पन्न भइसकेर धेरै जना बाहिरिसकेको अवस्थामा प्रहरी आएर धरपकड गरेकोले को को पक्राउ परे भन्ने खुल्न सकेको छैन ।
यद्यपी, युवा कवि तथा साँस्कृतिक अधिकार अभियन्ता अमित थेवे भने समातिएको निश्चित भइसकेको छ । ‘कार्यक्रम समापन भइसकेपछि हामी सबै निस्किसकेका थियौं । पछि आउने शुभचिन्तक भाईबहिनीहरु परे भन्ने छ । को को समातिए भनेर हामी बुझ्दैछौं,’ आदिबासी जनजाति महासंघ धरान नगर समन्वय परिषद अध्यक्ष हेमराज जिमी याक्खाले भने ।
ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले ७ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे । गोरु काटेको वा गोरुको मासु खाएको हो होइन भनेर अनुसन्धान हुने डिएसपी जबेगुले बताए । ‘सात जना छन् । गोरु काटेर खाएको हो कि के हो अनुसन्धान गरेपछि थाह हुन्छ,’ डिएसपी जबेगुले भने ।
साँस्कृतिक अधिकार संरक्षण समितिले आदिबासी समुदायको सदियौंदेखिको अधिकार कुण्ठित गरेको भन्दै गोरु काट्न पाउनुपर्ने आवाज उठाउदै आएको छ । समितिले आफ्नो स्थापना दिवसको दिन एक जना अधिकारकर्मीलाई सम्मान गर्ने गर्छ भने अतिथि तथा सहभागीहरुलाई कार्यक्रममा गोरुको मासुको परिकार खुवाउने गरेको छ । आज भएको कार्यक्रममा गोरु चिन्तन पुस्तक र यसका लेखक पत्रकार जनकऋर्षि राईलाई सम्मान गरेको थियो ।