धरान : चौकीबारी युवा समाज धरानले चौकीबारी साँझ २०८१ नामक सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

समाजले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रम धरान १९ स्थित जिमी चोकमा अपरान्ह ३ बजेदखि सञ्चालन हुने जानकारी दिएको छ । कार्यक्रम "खेलाडी र कलाकारहरुलाई प्रोत्साहन, जेष्ठ नागरिकहरुलाई अभिनन्दन” भन्ने उदेश्यका साथ यही फागुन १४ गते हुने समाजका अध्यक्ष उत्तम तामाङले जानकारी दिए । 

समाजले उक्त कार्यक्रममा धरान १९ नम्बर वडाबाट प्रतिनिधित्व गर्दै विभिन्न खेलमा स्वर्ण पदक विजेता खेलाडीहरु र वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने पनि जानकारी दिएको छ । शिवरात्रीको अवसरमा हुने कार्यक्रममा धरान १९ बाट स्वर्णपदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान हुनेछ भने ८५ वर्ष उमेर माथिका वडा जेष्ठ नागरिकहरुलाई अभिनन्दन र दुव्र्यसनबाट पीडित विपन्न ३ जना युवाहरुलाई सुधारकेन्द्रमा लाग्ने शुल्क प्रदान गर्ने पनि अध्यक्ष तामाङले बताए । यस्तै, ३० घर परिवारलाई स्वास्थ्य बिमा गरिदिने घोषणा पनि सोही कार्यक्रममा हुनेछ ।

कार्यक्रममा चर्चित पप स्टार धिरज राई र सोलो सिंगर धिरेन्द्र मालाकारको प्रस्तुति हुने आयोजकले जनाएको छ । अध्यक्ष तामाङका अनुसार कार्यक्रममा उर्जा ब्याण्ड, पुरानो कुपी ब्याण्ड, बदमास ब्याण्ड, द एलाइज ब्याण्डका कलाकारहरुले मनोरञ्जन गराउनेछन् ।

सो अवसरमा युनाइडेड मल्टिडान्स सेन्टरका कलाकारहरुसंगै रिङछिङ गुरुङ र सरु राईको नृत्य प्रस्तुत गरिने छ । उक्त कार्यक्रममा हेटौँडाका र्यापर एमएसडी, स्थानीय र्यापरहरु वाजालुरे, गेन्जी फुजियोलाई समेत प्रस्तुत गरिने समाजले जनाएको छ । 

करिव १६ लाख ८० हजार लागत रहने कार्यक्रममा धरान १९ का हङकङबासीहरुको सहयोग रहने समाजका सचिव सुनिल सुब्बाले जानकारी गराए । कोरिया, बेलायत र अष्ट्रेलियामा रहनुहरुने धरानबासी तथा अन्य नेपालीहरुको सहयोगमा यो कार्यक्रम गर्न लागिएको पनि सुब्बाले बताए । उनले भने-"धरान उपमहानगरपालिका, १९ नम्बर वडा समिति, भिजन फिट्नेस धरान, क्रन्च फिट्नेस, हरियाली सामुदायीक बन, चौकीबारी महिला समुह धरान १९ लगायतको साथ र सहयोग रहनेछ ।"

पत्रकार सम्मेलनमा अग्रज पत्रकार तथा युवा नेता भीमज्वाला राई, संस्थाका सल्लाहकार धरान १९ नम्बर वडा अध्यक्ष पूर्ण लिम्बू, समाजका सल्लाहकारहरु देउमान ताप्मादेन, सन्त तेम्बे लगायतको उपस्थिति थियो । साथै, पत्रकार सम्मेलनमा उर्जा ब्याण्ड र एलाइज ब्याण्डका कलाकारहरुको समेत उपस्थिति थियो । 

कार्यक्रमको सञ्चालन समाजका सचिव सुनिल सुब्बाले गरेका थिए । युवाहरुलाई दुव्र्यसनबाट जोगाउँदै सत्कर्ममा लाग्न उत्प्रेरित गर्ने र विपन्नहरुलाई सहयोग गर्ने उदेश्यले धरान वडा नम्बर १९ मा रहेका युवाहरुले चौकीबारी युवा समाज धरान स्थापना गरेको हो ।