धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले क्यान्सरका सिकिस्त विरामीहरुलाई लक्षित गरेर घरमै उपचार सेवाको प्रारम्भ गरेको छ ।
क्यान्सरका विरामीहरुलार्य सहजरुपमा उपचार सेवा तथा हेरचाह पुर्याउने उद्देश्यले 'होम बेस्ड हस्पिस केयर' सेवा प्रारम्भ गरेको प्रतिष्ठानले जनाएको छ । यो सेवा अन्तर्गत अस्पताल आउन कठिन हुने क्यान्सरका सिकिस्त बिरामीहरुलाई आवश्यक पर्ने नियमित या आकस्मिक उपचार सेवाहरु घरमै दिइनेछ । यसको लागि प्रतिष्ठानको स्वास्थ्यकर्मीहरुको टोलीले घरमै पुग्ने पनि प्रतिष्ठानका सहप्रवक्ता डा.अभिजित कुमारले जानकारी दिए ।
यो सेवाले क्यान्सरका कारण कमजोर भएर घरमा थलिएर बसेको समयमा, दुःखाइको पीडाले असह्य भएर छटपटाइ रहेको समयमा अस्पताल आउन नसकेका विरामी तथा आफन्तजनका लागि ठुलो राहत पुग्ने प्रतिष्ठानले विश्वास लिएको पनि जनाएको छ । यस प्रकारको सेवा काठमाडौं उपत्यका बाहिर यो नै पहिलो हो । यो सेवाको लागि इच्छुक विरामी वा तिनका आफन्तहरुले प्रतिष्ठानको इन्टरनल मेडिसिन विभाग अन्तर्गगतको अंकोलोजी युनिटसँग समन्वय गर्नुपर्ने हुन्छ ।
यो सेवा वापत प्रतिष्ठानले हाललाई प्रति भिजिट १५ सय शुल्क निर्धारण गरेको पनि जनाएको छ । साथै, विपन्न विरामीको हकमा भने प्रतिष्ठानले विपन्न विरामीलाई प्रदान गर्ने नियमानुसारको निःशुल्क सेवा दिने व्यवस्था पनि गरिने जनाएको छ । प्रारम्भिक चरणमा हाललाई यो सेवा धरान उपमहानगरपालिका भित्र उपलब्ध छ ।
प्रतिष्ठानले अन्कोलोजी उपचार तथा हेरचाहको लागि प्रमुख रेफरल केन्द्रको रूपमा सेवा दिँदै आएको छ। घरमै गएर उपचार गरिने यस कार्यक्रममा क्यान्सर रोग भएका सिकिस्त बिरामीहरूलाई क्यान्सर सम्बन्धी प्रशिक्षित नर्सहरू र डाक्टरहरूले भेट्ने, लक्षण व्यवस्थापन गर्ने, उपशामक व्यवस्थापन गर्ने, भावनात्मक/आध्यात्मिक सहयोग गर्ने एवं पारिवारिक परामर्श प्रदान गर्ने पनि प्रतिष्ठानले जनाएको छ ।
मोबाइल एपबाट ओपीडी टिकट काट्न सकिने
वीपी प्रतिष्ठानले सेवा विस्तारको क्रममा उपचारका लागि आउने बिरामीहरुको सुविधाको लागि ओपीडी टिकट दर्ता गर्न तथा ल्याब रिपोर्ट हेर्न मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गरेको छ । उक्त एपमा सेवाको पहुँच, पारदर्शिता र सेवा ग्रहण प्रक्रियालाई अझ सरल र प्रभावकारी बनाउन सुविधाहरु थप गरिएको प्रतिष्ठानले जनाएको छ ।
यो मोबाइल एप मार्फत सेवाग्राहीहरुले घरमै बसेर जेनेरल ओपीडी टिकट दर्ता गर्दा एपमा Log in गरी आफुले देखाउन चाहेको ओपीडी चयन गरी भुक्तानीको प्रकृया पश्चात् दर्ता भइसकेको जानकारीका साथै टोकन नम्बर प्राप्त गर्न सक्नेछन् । सो टोकन नम्बरको आधारमा अस्पतालको सम्बन्धित ओपीडीमा आएर ओपीडी टिकट तथा चिकित्सकलाई देखाउने टोकन प्राप्त गर्न सक्नेछन् । तर, उक्त एपमार्फत स्वास्थ्य बीमा, विपन्न नागरिक तथा अन्य के्रडिटमा हुने ओपीडी टिकट भने काट्न सकिनेछैन ।
उक्त मोबाइल एपको माध्यमबाट ल्याबको रिपोर्ट पनि सहज रुपमा हेर्न र डाउनलोड गर्न सकिनेछ । उक्त मोबाइल एप Google Play Store मा 'B.P Koirala Institute of Health Science' टाइप गरी डाउनलोड गर्न सकिने प्रतिष्ठानले जनाएको छ । साथै, एपमा दिइएको QR Code लाई आफ्नो मोबाइलको क्यामरा वा स्क्यानरको माध्यमबाट स्क्यान गरेर समेत डाउनलोड गर्न सकिनेछ । ओपीडी टिकट वापतको शुल्क आइएमइ पे र खल्ती नामका Payment Gateway को माध्यमबाट भुक्तानी गर्नसकिने पनि प्रतिष्ठानको भनाई छ । हाललाई यो सुविधा Android version का मोबाइलहरुमा मात्र उपलब्ध छ ।
उक्त सेवाको संचालन पश्चात् ओपीडी टिकट काट्न तथा ल्याब रिपोर्ट लिनका लागि सेवाग्राहीले घण्टौं लाइनमा बस्नु पर्ने झंझटबाट राहत मिल्ने तथा समयको बचत हुनेछ भन्ने विश्वास लिइएको छ ।
विद्यार्थीहरुका लागि युनिट गठन
प्रतिष्ठानले शैक्षिक क्षेत्रमा समेत सेवा सुविधा थप गरेको छ । यहा अध्ययनरत विद्यार्थीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको हितलाई मध्यनजर गर्दै प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्माज्यूले फिजिकल एण्ड मेन्टल हेल्थ वेलबिइङ युनिट फर स्टुडेन्ट्स नामक इकाई गठन गरेका छन् ।
मानसिक रोग विभागकी एडिसनल प्रोफेसर डा. रिंकु कुमारी गौतमको अध्यक्षतामा इकाई गठन गरिएको हो । उक्त इकाईले विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनका निम्ति, विद्यार्थीहरुमा शारीरिक तन्दुरुस्ती, उचित पोषण तथा मानसिक स्वास्थ्य जस्ता विषयमा जागरुकता बढाउने कार्यहरु गर्ने पनि प्रतिष्ठानका सहप्रवक्ता डा.अभिजित कुमारले जानकारी दिए ।
इकाईले विद्यार्थीहरुलाई विभिन्न इन्डोर–आउटडोर खेलकुद तथा व्यायामशालाको व्यवस्था गरिएको छ भने न्यूनतम शुल्क लिएर भाडामा साइकल उपलब्ध गराउने योजना समेत रहेको जनाएको छ । यसका साथै विद्यार्थीहरुका लागि छुट्टै योगा कक्षा तथा ध्यान केन्द्र समेत सञ्चालनमा ल्याइएको प्रतिष्ठानको भनाई छ ।
विद्यार्थीहरुका लागि आवश्यक पर्नसक्ने मानसिक स्वास्थ्य परामर्श सेवाहरु सहजरुपमा प्राप्त गर्न सकिने व्यवस्था र छुट्टै ओपीडी सेवाको समेत व्यवस्था गरिने पनि प्रतिष्ठानले जनाएको छ । विद्यार्थीहरुमा आकस्मिकरुपमा मानसिक स्वास्थ्य समस्या देखिएमा दु्रतरुपमा उपचार सेवा वा परामर्शका लागि हेल्पलाइन फोन नम्बरको पनि व्यवस्था गरिएको सहप्रवक्ता डा.अभिजित कुमारले जानकारी दिए ।
प्रतिष्ठानले स्नातक तहका विद्यार्थीहरुका लागि मेन्टर । प्रिसेप्टरको रुपमा प्रतिष्ठानका शिक्षकहरुलाई मनोनयन गर्ने पुरानो व्यवस्थालाई समेत पुनः सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । प्रत्येक विद्यार्थीले आप्नो मेन्टर/ प्रिसेप्टरसंग आफ्ना भावना एवं समस्याहरु बताउन सक्नेछन् । यसले शुरुका वर्षका कतिपय विद्यार्थीहरुमा देखिने शैक्षिक र भावनात्मक तनाव हट्ने अपेक्षा लिइएको प्रतिष्ठानको भनाई छ ।
विद्यार्थीहरुको चिकित्सकिय अभ्यासलाई बृहत बनाउने उद्देश्यले प्रतिष्ठानमा स्नातक तहका विद्यार्थीहरूको स्टुडेन्ट्स् अंकोलोजी विंगको पनि स्थापना भएको छ । यसमा रहेर विद्यार्थीहरुले क्यान्सर रोकथाम र जागरूकतामा योगदान पुर्याउने, विद्यार्थीहरू र आम जनतामा क्यान्सर शिक्षा, जागरूकता र निवारक स्वास्थ्य सेवा अभ्यासहरूलाई प्रवद्र्धन गर्नेछ भने प्रतिष्ठान र समुदाय बीच पुलको रूपमा काम गर्ने सहप्रवक्ता अभिजिति कुमारले बताए । यस्तै, विद्यार्थीहरुलाई अनुसन्धानको क्षेत्रमा आबद्ध गराई अनुसन्धान सम्बन्धि ज्ञानलाई बलियो बनाउने उद्देश्यले रिसर्च विंगको पनि स्थापना गरिएको डा.अभिजितिले जानकारी दिए ।