धरान: धरान ९ स्थित विष्णु मेमोरियल स्कुलले विद्यार्थीहरुलाई दुना, टपरा र बात्ति काट्ने तालिम दिएको छ। 

स्कुलले कक्षा ७ देखि १० सम्मका ईच्छुक विद्यार्थीहरुलाई २ दिने तालिम आयोजना गरिएको जानकारी दिएको छ । जुनियर युवा रेडक्रस सर्कल विष्णु मेमोरियल माविको आयोजनामा आज (शुक्रबार) र शनिबार (भोली) तालिम हुनेछ । मौलिक सीपहरु लोप हुन नदिन विद्यार्थीहरुलाई तालिम दिएको स्कुलका शिक्षक भवानी प्रसाद खतिवडाले जानकारी दिए । 

'हाम्रा नानीहरु व्यावहारिक ज्ञानमा कमजोर भए, मौलिकता हराउदै गए, बिर्सदै गए,' उनले भने, 'पिता- पुर्खाहरुले जसलाई प्रयोग गरेर जीवन निर्वाह गरे, हाम्रो अभिन्न अंगकोरुपमा रहेको दुना, टपरी, बात्तिजस्ता मौलिक कुराहरु सिकाउनुपर्छ, हराउन दिन हुदैन भनेर तालिम दिइरहेका छौं ।'

स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले आधुनिकताको नाममा परम्परा, मौलिकता र सँस्कृतिलाई बिर्सदै गएकोले विद्यार्थीहरुलाई परम्पगात सिप सिकाउन तालिम आयोजना गरिएको बताए । 'यस्तो तालिमले परम्परागत सिपको संर्वद्धन, प्रर्वद्धन हुने भयो साथै, स्थानीयस्तरमा पाइने वस्तुहरु उपयोग गरेर कसरी हामीले आफ्नो प्रयोगमा ल्याउन सकिन्छ भनेर अर्को सिकाई हुन्छ,' प्रिन्सिपल श्रेष्ठले भने, 'शिक्षण सिकाई भनेको किताबमा मात्र सिमित हुदैन, यस्ता कुराहरुले एक त समुहमा काम गर्ने र सिकेको कुरा समुहमा कसरी एक अर्कालाई सिकाउन सकिन्छ भन्ने प्रयोगात्मक मुल्यांकन हुन्छ ।' 

nilam sth

 स्कुललाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिरहेको पनि प्रिन्सिपल श्रेष्ठले जानकारी दिए । 'हाम्रो स्कुलमा मिनि म्युजियम बनाउने सोचमा छौं, जसमा परम्परागत औजार, विभिन्न जातजातिको भेषभुषा, वाद्यवाधनका सामग्रीहरु पनि राखिनेछ,' भावी योजनाबारे प्रिन्सिपल श्रेष्ठले भने । विष्णु स्कुलमा अध्यापनबाहेक अतिरिक्त क्रियाकलापमा पनि प्राथमिकता दिएको उनको भनाई छ । प्रिन्सिपल श्रेष्ठले भने, 'अन्य स्कुल भन्दा हाम्रोमा १३ अतिरिक्त विधा संचालनका लागि १५ जना प्रशिक्षक राखेर विद्यार्थीहरुलाई सिकाउछौ तर पहिलो प्रथामिकता पढाइ नै हो ।' 

वडा ९ का अध्यक्ष रुपेश आचार्यले आफ्नो वडामा भएको स्कुलले विद्यार्थीहरुलाई व्यवहारीक शिक्षा दिएकोमा खुशी व्यक्त गरे । उनले हप्तामा एउटा कक्षा विद्यार्थीहरुलाई घरको व्याहवारिक ज्ञान दिलाउन पनि राख्न सुझाव दिएको बताए । 'यो तालिम एकदमै राम्रो हो । हिजोआज घरमा आफ्ना नानीहरुलाई हामी सिकाउदैनौं, पढ् मात्रै भन्छौं,' वडा अध्यक्ष आचार्यले भने, 'स्कुलमा नै घरको काम गर्न सिकाएर पठायौं भने घरमा पनि गर्छन्, भनेर स्कुललाई सुझाव दिएको छुँ ।'

भिडियो: