धरान: नेपालका पहाडी दुर्गम क्षेत्रहरुमा अहिले पनि सडक पुर्वाधार र सडक भएका ठाउँमा पनि एम्बुलेन्स अभावले विरामीहरुलाई डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । समयमा नै अस्पताल पुर्याउन नसक्दा कतिपय विरामीहरुले बाटोमै ज्यान गुमाइरहेका छन् ।

यही समस्यालाई न्युनीकरण गर्ने उद्देश्यले धरानस्थित पेन्सन वितरण कार्यालयमार्फत भारत सरकारले ४ पहाडी जिल्लाका स्थानीय तहलाई ४ वटा एम्बुलेन्स वितरण गरेको छ । पेन्सन वितरण कार्यालयका अनुसार नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत यो एम्बुलेन्स वितरण गरिएको हो । 

संखुवासभा जिल्लाको चिचिला गाउँपालिकास्थित गाउँपालिका अस्पताल, तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिकास्थित आमबुङ्ग हेल्थ पोष्ट, उदयपुरको चौदण्डी नगरपालिका र सोलुखुम्बुको महाकुलुङ्ग बेसिक अस्पताललाई एम्बुलेन्स वितरण गरिएको कार्यालयका प्रभारी अधिकारी भरत कनोजियाले जानकारी दिए । कार्यालयमा एक समारोहबीच मेजर कनोजियाले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुलाई एम्बुलेन्सको चाबी र कागजात हस्तान्तरण गरेका थिए । 

ambulance1 copy

मेजर कनोजियाले कार्यक्रमलाई सम्बोधन गर्दै भारत सरकारले आफ्ना मित्र राष्ट्र नेपाल र नेपाली जनतासँगको परापुर्वकालदेखि रही आएको सम्बन्ध, मित्रता र भाईचारा कायम राख्दै स्वास्थ्य सेवामा पनि टेवा पुर्याउने उद्देश्यले प्रत्येक बर्ष एम्बुलेन्स प्रदान गर्दै आइरहेको जानकारी दिए । उनका अनुसार यो बर्ष मात्रै भारत सरकारबाट नेपाल अधिराज्यभरि ४० वटा अत्याधुनिक लाइफ सपोर्टयुक्त एम्बुलेन्स विरतण हुनेछ । 

उनले भने, ‘कुनै पनि समाजको स्तर, उन्नती र प्रगतिका लागि स्वास्थ्य एक अभिन्नरुप मानिन्छ, तसर्थ आज प्रदान गरिएको एम्बुलेन्सले स्वास्थ्य र सबल समाज निर्माणमा कोसेढुंगा सावित हुनेछ ।’ मेजर कनोजियाले पेन्सन वितरण कार्यालयले भारतीय भूपूसैनिक तथा तिनका आश्रितहरुको समस्या समाधानको लागि हरसम्भव कोसिस गर्ने पनि बताए ।

भिडियो: