धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले कोशी नदीबाट पानी ल्याउने आयोजनालाई स्थानीय तहको प्राथमिकता प्राप्त विकास आयोजनाकोरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
उपमहानगरको मंगलबार दिउँसो बसेको बैठकले एकमतका साथ यस्तो निर्णय गरेको हो । बैठकले उक्त आयोजना सञ्चालनको लागि स्थानीय तहले गर्नुपर्ने लागत साझेदारीको रकम पनि आगामी आर्थिक बर्षको बजेटमा सुनिश्चित गर्ने निर्णयसमेत गरेको छ । बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले संघीय मन्त्रालयबाट यो आयोजनालाई स्थानीय तहको प्राथमिकता प्राप्त विकास आयोजनाकोरुपमा कार्यपालिकाले निर्णय गर्न र साझेदारीको रकम सुनिश्चित गर्ने निर्णय आवश्यक पर्ने भन्दै पत्राचार गरेको जानकारी गराएका थिए ।
मेयर साम्पाङले २०७९ बैशाख ३० गतेको निर्वाचनमा धरानको मेयरमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्दा सप्तकोशीको पानी ल्याएर खुवाउने एजेण्डा अघि सारेका थिए । कोशीबाट पानी ल्याउन संघीय सरकारको खानेपानी मन्त्रालयले अध्ययन गरि विस्तृत अध्ययन प्रतिवेदनसमेत तयार गरिसकेको छ ।
साविक पाँचकन्या र विष्णुपादुका गाविसमा पनि १४ फिट मापदण्ड लागु हुने
कार्यपालिका बैठकले २०७५ जेठ ८ गते टुक्रे बाटो सम्बन्धमा गरेको निर्णयलाई पनि परिमार्जन गर्ने महत्वपुर्ण निर्णय गरेको छ । २०७५ सालमा भएको उक्त निर्णयमा २०७२ असोज १३ भन्दा अघि कित्ताकाट भएको बाटोको मापदण्ड कायम गर्दा पुर्वनिर्णय भएको साविक पाँचकन्या र विष्णुपादुका गाविस बाहेक यदि १०० मिटर लम्बाई भई डेड इन्ड (टुंगिने) भएको अवस्था भए १४ फिट चौडा सडक मापदण्ड कायम गर्ने निर्णय भएको थियो ।
यो निर्णयले एउटै उपमहानगरपालिका भित्र वडा अनुसार फरक फरक मापदण्ड कायम भएको थियो । साविक धरान नगरपालिका (१९ वडा)मा मात्र १०० मिटर लम्बाई भएर डेड इन्ड हुने सडक १४ फिट चौडा सडक मापदण्ड कायम भएको थियो भने हाल वडा नं ४, ५, ६ र २० नम्बर वडामा यो मापदण्ड लागु नहुदा स्थानीयबासी पीडित थिए । जसले गर्दा साविक पाँचकन्या र विष्णुपादुका गाविसका स्थानीयबासीहरुबाट धेरै पटक गुनासो भएको थियो । जनताको चाहना वमोजिम साविक पाँचकन्या र विष्णुपादुका भन्ने शब्द हटाई सबै वडामा समान मापदण्ड तथा सडक सेडब्याक लागु गर्ने निर्णय बैठकले गरेको छ ।
श्रेया बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त सुचीमा राख्ने निर्णय
कार्यपालिका बैठकले धरान १५ स्थित श्रेया बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्तको सुचीमा राख्ने निर्णय गरेको छ । श्रेयाले धरान उपमहानगरपालिकाको सहकारी ऐन २०७५ को परिच्छेद १८ दफा ७७ (१) को (क) देखि (ज) सम्म भएको व्यवस्थामा उल्लेख भए वमोजिम कार्य गरेकोले समस्याग्रस्तको सुचीमा राख्न उपयुक्त हुने निर्णय गरेको हो । साथै, सो कार्यको सहयोगको लागि सम्बन्धित निकाय प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवा सुनसरीलाई पठाउने भनि कानुनी सल्लाहकारको राय आएकोले सोही वमोजिम गर्ने निर्णय बैठकले गरेको छ ।
श्रेयाले बिगत ६ बर्षदेखि सेयर सदस्य तथा बचतकर्ताहरुको पैसा फिर्ता नगरि ठगी गरेको भन्दै उपमहानगरपालिकामा पीडितहरुले समस्याग्रस्त घोषणा गरि रकम फिर्ता गराउन निवेदन दिएका थिए । श्रेयाका सञ्चालक एवं अध्यक्ष लोकबहादुर लिम्बु विरुद्ध सुनसरी जिल्ला अदालतमा ठगी मुद्दा विचाराधिन पनि रहेको छ । यसअघि बराह सहकारीलाई पनि समस्याग्रस्त घोषणा गर्न २ पटक एजेण्डा पेश गरिए पनि कार्यपालिका बहुमत सदस्यहरुले असहमति जनाएपछि बराह भने समस्याग्रस्त घोषणा भएको छैन ।
वडा ४ को तीन योजना
कार्यपालिका बैठकले धरान वडा नं ४ स्थित शिवजट्टा मन्दिर जाने बाटो, ड्रेन तथा साइट वाल निर्माण गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्तालय काठमाण्डौंलाई सिफारिश गर्ने निर्णय पनि गरेको छ । शिवजट्टा धरान बजारबाट करिब ५ किलोमिटर उत्तरपुर्वमा अवस्थित धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको धार्मिकस्थल हो ।
यस्तै, बैठकले शिवजट्टा मन्दिर मर्मत सम्भार गर्नको लागि सास्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय सिंहदरबार काठमाण्डौंलाई सिफारिश गर्ने निर्णय पनि गरेको छ । साथै, वडा ४ को पुरानो वडा कार्यालय छेउमा सार्वजनिक सौचालय निर्माण गर्न जग्गा उपलब्ध गराउने पनि निर्णय बैठकले गरेको छ ।
भिडियो:
भिडियो: