धरान: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा छानबिनको दायरमा परेमा गृहमन्त्री रमेश लेखकले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् ।
महामन्त्री थापाले बुधबार धरान १७ स्थित साकेला पार्कमा कांग्रेस धरान उपमहानगर समितिको नगर सम्मेलनलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् । यद्यपी उनले गृहमन्त्री रमेश लेखक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन तथा अनुसन्धानको दायरामा नपरेकोले जर्बजस्ती जिम्मेवारी लिनुपर्छ भन्नु कानुन सम्मत र न्यायोचित नहुने भन्दै बचाउ पनि गरे ।
‘जसले नागरिकहरुको संरक्षण गर्नुपर्ने जिम्मेवारी लिएको छ, उनीहरुबाटै पीडित भएको कुराले हामी सबै स्तब्ध भएका छौं,’ थापाले भने, ‘यस्तो कुकृत्यमा संलग्न भएको एक जनाले पनि छुट पाउनुहुन्न । कहिले देखि शुरु भएको हो, जहिलेदेखि शुरु भएको छ, जो जो यसमा संलग्न छन्, दोषी सबैले सजाय पाउनुपर्छ ।’
अख्तियारले छानबिन गर्ने प्रक्रिया शुरु गरिसकेको उल्लेख गर्दै नेता थापाले संवैधानिक संस्थाले कसैको शक्तिको भक्ति नगरी र भीडले गर्ने निर्णय पनि सुनाउन नहुने बताए । ‘अख्तियारले शक्तिको भक्ति नगरी र भिडले गर्ने निर्णय पनि सुनाउने होइन । निष्पक्षढंगले छानबिन गर्नुपर्छ । जरा कहाँ छ, हागाबिगा कहाँ छ, कहिलेदेखि शुरु भएको हो, एक एक फाइल पल्टाएर एक एक दोषीलाई सजय दिनुपर्छ,’ उनले भने,‘यो दण्ड सजाय प्राप्त हुदा हाम्रो केही मान्छे पर्छ भने त्यो बेला हामी रुवावासी गरेर सडकमा आउदैनौं । गलत गरेको छ भने त्यो कांग्रेस, एमाले जो भएपनि सजाय पाउनुपर्छ ।’
महामन्त्री थापाले जबसम्म सम्बन्धित व्यक्तिमाथि छानबिन हुन्छ, त्यसको जिम्मेवारी सोही व्यक्तिले लिनुपर्ने बताए । ‘त्यो छानबिनको दायरामा प्रशासनिक वा राजनीतिक नेतृत्व नआएको बेलामा हामीले तिमीले यसको जिम्मेवारी लिनुपर्छ भनेर भन्ने कुरा कानुनतः ठिक हुदैन, त्यो न्यायोचित हुदैन । यो हिजो पनि त्यही हो, भोली पनि त्यही हो, आज मात्र होइन,’ उनले भने, ‘अहिलेका गृहमन्त्री बषौंदेखि विभिन्न जिम्मेवारी निर्वाह गर्दा इमान्दार भएर नै आएको हो, अहिले पनि इमान्दार हुनुहुन्छ भन्ने विश्वास छ तर विश्वासभन्दा माथि कानुन हुन्छ, प्रमाण हुन्छ । विश्वास भन्दा माथि तथ्य हुन्छ ।’
अख्तियारले निष्पक्ष छानबिन गर्ने विश्वास व्यक्त गर्दै नेता थापाले कथंकदाचित छानबिन हुदै गर्दा मन्त्रीमाथि नै छानबिन हुने अवस्था आएमा तत्क्षण मन्त्रीले आफ्नो जिम्मेवारी छाड्नुपर्ने पनि बताए । ‘यो अवस्थामा तत्क्षण मन्त्रीले जिम्मेवारीबाट अलग रहनुपर्छ । त्यो बेलामा गल्ती गरेको छ भने सजाय भोग्नुपर्छ,’ उनले भने, ‘छानबिनको दायरामा मन्त्री आउछ भने मन्त्री भएर अनुसन्धान भइराख्छ भन्न मिल्दैन, त्यो बेला जिम्मेवारीबाट अलग हुनुपर्छ । आयोगले अनुसन्धान टुंग्याउछ, गल्ती गरेको छ भने सजाय पाउछ, छैन भने सफाई पाउछ र फेरि सँगैको राजनीतिक यात्रामा अगाडि बढने अवस्था रहन्छ, हामी यो कुरामा प्रष्ट रहनुपर्छ ।’
भिडियो: