धरान: सोमबार बिहान धरान वडा नं ११ स्थित वान डाँडा र नगरकोट मार्गमा ड्रेन विवादमा आफुमाथि आक्रमण भएको भन्दै सन्तोष लिम्बुले मेयर हर्कराज राई (साम्पाङ) र वडाअध्यक्ष लोकेन्द्र फागोसहित ३ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । 

माओवादी नेतासमेत रहेका नगरकोट टि.एल.ओ.का अध्यक्ष लिम्बुले मंगलबार साँझ ईलाका प्रहरी कार्यालय धरानमा मेयर साम्पाङ र वडा ११ अध्यक्ष फागोविरुद्ध किटानी जाहेरी दिएका हुन् । उनले आफुलाई आक्रमण गरेको भन्दै जोन लिम्बुविरुद्ध पनि किटानी जाहेरी दिएका छन् । विवाद मिलाउन भएको छलफलमा मेयर साम्पाङ र वडाअध्यक्षकै सामुन्ने आफुमाथि आक्रमण भएको र जिउज्यानको असुरक्षा भएको भन्दै लिम्बुले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । 

निवेदक लिम्बुले मेयर साम्पाङ र वडाअध्यक्ष फागोले तिमी को हौं ? तिम्रो हैसियत के हो ? तिमी वडा सदस्य, वडाअध्यक्ष पनि होइनौं भन्दै आफुमाथि आइलागेको र जोन लिम्बुले मुड्की उज्याएर टाउकोमा प्रहार गरेको जाहेरीमा उल्लेख गरेका छन् । उनले मेयर साम्पाङ, वडाअध्यक्ष फागो र आक्रमण गर्ने लिम्बुलाई अभद्र व्यवहार कसुरमा कारबाहीको माग गर्दे जाहेरी दिएका छन् । 

प्रहरीमा जाहेरी दिन पुगेपनि डिएसपी प्रकाश जबेगु कार्यालयमा नभएकोले जाहेरी प्रहरीलाई छोडेको र भोली (बुधबार) पुनः कार्यालय समयमा गएर जाहेरी दर्ता गराउने लिम्बुले बताए । पत्रकार सम्मेलन गर्दै उनले मेयर र वडाअध्यक्ष भनेर प्रहरीले कारबाही गर्न आनाकानी नगर्न पनि आग्रह गरेका छन् । मेयर साम्पाङ निरंकुश भएको उनको आरोप थियो ।

लिम्बुले नगरकोट बानडाँडा मार्गमा ड्रेन बनाउन पहल गरेर प्रदेश सरकारबाट बजेट ल्याएका थिए । उक्त बजेटले नगरकोटबाट ड्रेन बनाउने क्रममा आधा मात्र पुगेको थियो । ड्रेन अधुरै भएपनि बर्षाको पानी कटाउन उनले बाटो निर्माण भएको बाँध बीचमा काटेर ह्युम पाइप राखेपछि नगरकोट र बानडाँडा विष्णुचोकबासीबीच विवाद सृर्जना भएको थियो । वडा कार्यालयले छलफलमा बेलाएपनि नगरकोटबासी नगएपछि विवाद बढ्दै गएर दुवै पक्ष छुट्टाछुट्टै मेयर साम्पाङलाई भेट्न पुगेका थिए ।

सोही विवाद फिल्डमा नै पुगेर छलफल गर्ने र समाधान गर्ने उद्देश्यले सोमबार बिहान मेयर साम्पाङ, वडाअध्यक्ष फागो स्थलगत निरीक्षणमा पुगेका थिए । मेयर साम्पाङले विवाद समाधान गर्न ड्रेनलाई वानडाँडा विष्णुचोकसम्म नै पुर्याउने आश्वासन दिए पनि नगरकोट टिएलओ अध्यक्ष लिम्बुले असहमति जनाएपछि वादविवाद, भनाभन हुदै हातपातसमेत हुनपुगेको थियो । 

भिडियो: