धरान: लेस्बियन केटीको निहुँमा झगडा हुँदा धारिलो हतियार प्रहार गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान वडा नं १० का २२ बर्षीय युवराज कार्की र वडा १२ का २१ बर्षीय राजिव परियार रहेका छन् । प्रहरीले घटना भएको २ दिनपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । घटना बैशाख ८ गते (सोमबार) राती १० बजे ४५ मिनेटमा धरान वडा नं ८ स्थित भोटेपुलमा भएको हो । 

घाइते इटहरी २० का २० बर्षीय अविनाश मगर हुन् । उनी उपचार पश्चात हिजो बुधबार डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । उनलाई खुकुरी प्रहार गर्ने युवराज र राजिवलाई प्रहरी निरीक्षक दिवस कुँवरको कमाण्डमा खटिएको टोलीले पक्राउ गर्न सफल भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेपुलमा धारिलो हतियार प्रहार गरी एक व्यक्ति घाइते भएको अवस्थामा स्थानीय १९ बर्षीय निकेस राई र १८ बर्षीय शिव कुमार रायले देखेपछि उपचार गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका थिए । घटनाबारे जानकारी पाएलगत्तै डिएसपी प्रकाश जबेगु नेतृत्वको प्रहरी टोली संलग्नहरुको खोजीमा खटिएको थियो ।

प्रहरीका अनुसार युवराजलाई उनकै घर नजिक चोकबाट हिजो बुधबार नियन्त्रणमा लिएको हो भने राजिवलाई वडा ११ स्थित प्रार्थना सुधार केन्द्र छेउबाट पक्राउ गरेको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ । डिएसपी जबेगुका अनुसार घटना लेस्बियन केटीको निहुँमा भएको खुलेको छ । ‘हामी थप अनुसन्धान गरिरहेका छौं,’उनले भने ।