धरान: तीन दशकदेखि क्यानभासमा आफ्ना भावनाहरुलाई रंगमार्फत पोत्दै आएका कलाकार हुन्, महेन्द्र राई । 

उनले काठमाण्डौं पुगेर चित्रकला पढे, सिके । त्यो ज्ञानलाई उनले आफ्नो क्यानभासमा मात्र सिमित राखेनन् । धरानमा युमा फाइन आर्ट एकेडेमी खोलेर आफुजस्तै नयाँ कलाकारहरु उत्पादन पनि गरे । उनले सिकाएका युवा कलाकारहरुले आफ्नो छुट्टै पहिचान बनाइरहेका छन् ।

उनै चित्रकलाका गुरु महेन्द्र राईको पहिलो पटक चित्रकला प्रर्दशनी शुक्रबारदेखि धरानमा शुरु भएको छ । धरान ९ स्थित होटल रत्न इनको सभाहलमा कलाकार राईका ४८ वटा चित्रहरु प्रर्दशनीमा राखिएको छ । कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानको आयोजना र धरान उपमहानगरपालिकाको सहयोगमा आयोजित दुई दिने काव्य कला कोलाज २०८२ अन्र्तगत राईको एकल चित्रकला प्रर्दशनी शुरु भएको हो । 

mahendra sir1

हुन त उनले बनाएका चित्रहरुको प्रर्दशनी २०६२ सालमा पनि भएको थियो । तर, ती चित्रहरु स्वर्गीय कवि कृष्ण पाख्रिनको कवितामाथि बनेका थिए । ‘यो चै स्वतन्त्ररुपमा मेरो भिजनमा गरेको सृर्जनाको पहिलो प्रर्दशनी हो,’ कलाकार राईले भने,‘यो पटक बिशेष वाटर कलर पेन्टिङ धेरै छन् । एक्रोलिक २, ४ वटा मात्र छ । अरु सबै नेचरको कामहरुलाई फोकस गरेर वाटरकलरमा काम गरेको छुँ, प्रकृतिलाई उतारेको छुँ ।’

प्रकृतिलाई क्यानभासमा उतार्ने गरेका राई जहाँ पुग्छन्, त्यही बसेर प्रकृति–ल्याण्डस्केपलाई उतार्छन् । उनको प्रर्दशनीमा राखिएका चित्रहरु भारतको सिक्किमदेखि हिमाञ्चल प्रदेशमा पुग्दा लाइभ बनाएका पेन्टिङ पनि छन् । हिमाञ्चलमा बनाएको पेन्टिङले अन्र्तराष्ट्रिक कला गोष्ठीमा वेष्ट वाटरकलर पेन्टिङको पुरस्कार पनि पाएको थियो । ‘हाम्रो धरान आसपासका प्रकृतिहरुलाई क्यानभासमा उतारेको छुँ,’ उनले भने,‘आधा जति स्टुडियोमा बसेर बनाएको छुँ, आधा चै फिल्डमा नै पुगेको बनाएको छुँ ।’

mahendra sir2

कलाकार राई चित्रकला अध्ययनको लागि २०५३ सालतिर काठमाण्डौं गएको थिए । त्यसयता उनले कति चित्र बनाए, हेक्का नै छैन । तर उनका चित्रहरु बिक्री भएर विदेशतिर पनि पुगेको छ । ‘म नेचरमा रमाउछु । यति राम्रो लाग्छ, काम गरिरहदा आफैभित्र आनन्द महशुस हुन्छ,’ चित्रमा प्रकृतिलाई उतार्नुको कारण उनले खोले,‘मैले चित्रमा उतारेको कतिपय ठाउँहरु विकासको क्रममा लोप हुदै गइरहेको छ । मैले अहिले बनाएको ती चित्रहरु भविष्यमा इतिहासको साक्षी भएर रहनेछ । मैले बनाएको चित्रको ठाउँमा पुग्दा अहिले त्यो नहुनसक्छ।’ 

आफुले बनाएको चित्रले प्रकृतिसँगै त्यो समयको अवस्था झल्काउने कलाकार राईको भनाई छ । समयसँगै त्यो ठाउँमा के परिवर्तन आयो भनेर प्रष्ट्याउने उनले बताए । प्रर्दशनीमा राखिएका चित्रहरु बिक्रीको लागि पनि हो । ‘कसैले इच्छायो भने बिक्री पनि हुन्छ । मन पराएर आजै २, ३ वटा चित्र बिक्री भएको छ,’उनले भने ।

mahendra sir3

कलाकार राईले स्थापना गरेको युमा फाइनआर्ट एकेडेमी हाल धरान वडा १० स्थित सैनिक भवन नजिकै (पश्चिमतर्फ) छ । उनी एकेडेमीमा विद्यार्थीहरुलाई पेन्टिङ सिकाउछन्, र विभिन्न स्कुलहरुमा पनि पुगेर पेन्टिङ पढाउछन् । ‘जे सिकेर आए, अरुले पनि सिक्नुपर्छ भनेर एकेडेमी चलाइरहेको छुँ । विद्यार्थीहरु पनि आइरहेका छन्, नयाँ पुस्ताले पनि सिकिरहेका छन्,’ उनले आफ्ना प्रतिभावान् केही विद्यार्थीहरुको नाम लिदै भने,‘धेरै राम्रो काम गरेका विद्यार्थीहरु छन्, राम्रो कलाकारहरु बनेका छन् । हेमन्त थापा, जीवन पौडेल, बिक्रम लिम्बु, बिज्ञान राई, धिरज चाम्लिङ राईहरुले कलामा केही गरे, धेरै खुशी लाग्छ, यो एकेडेमी खोलेर राम्रो काम गरेको रहेछु भन्ने लाग्छ ।’ 

शनिबार कविता वाचन, विमर्श र कृतिमाथि परिचर्चा हुने

rajesh bidrohi

भोली (शनिबार) सम्म हुने काव्य कला कोलाज २०८२ को उद्घाटन शुक्रबार एक समारोहबीच धरानका कार्यपालिका सदस्य दिनेश गजमेरको प्रमुख आतिथ्यमा भएको थियो । आयोजक प्रतिष्ठानका अध्यक्ष उपप्राध्यापक राजेश विद्रोहीले साहित्य र कलाको उर्बर भुमी धरानलाई गतिशिल बनाउन यो कार्यक्रम आयोजना गरिएको बताए । ‘पुर्वमा बसेर महेन्द्र राईले कला क्षेत्रमा धेरै योगदान दिएका छन् । उनको योगदानलाई उजागर गर्नुपर्छ, र हौसला दिनुपर्छ भनेर एकल चित्रकला प्रर्दशनी गरेको हो,’ उनले भने ।

mahendra sir4

अध्यक्ष विद्रोहीका अनुसार शनिबार पहिलो सत्रमा बालबालिकाको कविता वाचन कार्यक्रम हुनेछ भने दोस्रो सत्रमा धरानमा कविता भन्ने विमर्श कार्यक्रम हुनेछ । ‘पहिला पनि कविता लेखिन्थ्यो, अहिले पनि लेखिन्छ तर प्रविधिको समय आयो । त्यसले कविताको ढाचा परिवर्तन आयो होला, पहिला कस्तो थियो कविताको परिवेश, अहिले कस्तो भयो भनेर वक्ताहरु छन्,’ उनले भने, ‘र अन्तिम सेसन कवि शकुन आँशुको नयाँ काव्य कृति नवयुगकी सुम्निाको परिचर्चा कार्यक्रम हुनेछ ।’ 

भिडियो :