धरान: स्कटल्याण्डमा सम्पन्न नेपाल इन्डिजिनियस फिल्म फेस्टिवल २०२५ मा नाम्लो फिल्मबाट पूर्ण लिम्बूले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् ।

नेपाल स्कटल्याण्ड एशोसिएशनको आयोजनामा स्कटल्याण्डको राजधानी एडिनबरामा सम्पन्न फेस्टवलमा अभिनेता लिम्बूले उक्त अवार्ड हात पारेका हुन् । हाल धरान निवासी लिम्बू ब्रिटिश आर्मीका अवकाश प्राप्त क्याप्टेन पनि हुन् । उनी गायक पनि हुन् ।

चलचित्र नाम्लोका प्रस्तुतकर्तासमेत रहेका लिम्बूले संखुवासभाको खाम्लिङ गाउँमा खानेपानी र पूर्वाधार विकासमा सहयोग गर्ने उद्देश्यले चलचित्र निर्माण गरेको बताएका छन् । उत्कृष्ट अभिनेताको अवार्ड पाउदा जिम्मेवारी थपिएको महशुस भएको र अझ उत्कृष्ट काम गर्ने हौसला मिलेको उनले बताए । ‘मलाई अझ राम्रो काम गर्ने प्रेरणा, हौसला मिलेको छ,’ उनले प्रतिक्रिया दिदै भने ।

हेमन तामाङले निर्देशन गरेको यो चलचित्रको धरान, इटहरी, संखुवासभाको विभिन्न स्थानहरुमा बिशेष प्रर्दशन भइसकेको छ । जुलाई २७ मा बेलायतको आस्फोडमा यो फिल्मको पहिलो अन्तर्राष्ट्रिय बिशेष प्रर्दशनी आयोजनाको तयारी भइरहेको छ । 

यस्तै, आदिबासी जनजाति फिल्म विधामा उत्कृष्ट अभिनेत्री आशिष्मा नकर्मी (लाखे आजु), उत्कृष्ट पटकथा हेमन्तकृष्ण पन्धाक (हाङनन्द), उत्कृष्ट निर्देशक जुरी अवार्ड सागर केरुङ (छे), उत्कृष्ट निर्देशक प्रितम गुरुङ (मुखिया), उत्कृष्ट फिल्म सुगुप (निर्देशक लोकेन साँवा लिम्बु), बिशेष उल्लेख अवार्ड नाचोङ (निर्देशक ज्योतिराज राई)ले हात पारेको छ । 

यसैगरि, सर्ट फिल्म विधातर्फ उत्कृष्ट फिल्म खिल र ज्युरी अवार्ड लैलासा पराहेके भएको छ भने डकुमेन्ट्री विधातर्फ उत्कृष्ट डकुमेन्ट्री एभरेष्ट मम र डकुमेन्ट्री जुरी अवार्ड डिभाईन डिल्लेमाले पाएको छ ।

आदिबासी बिषयबस्तुमा आधारित मुख्यधारको चलचित्रतर्फ गाउँ आएको बाटोले उत्कृष्ट पटकथामा महेश राई, उत्कृष्ट अभिनेता दयाहाङ राई र उत्कृष्ट फिल्मको अवार्ड हात पारेको छ । यस्तै, चलचत्रि अञ्जिलाले उत्कृष्ट चरित्र अभिनेतीमा सिर्जना सुब्बा, उत्कृष्ट चरित्र अभिनेता माओत्से गुरुङ र उत्कृष्ट निर्देशक मिलन चाम्सले अवार्ड पाएका छन् । 

उत्कृष्ट नवअभिनेता रितेश चाम्सले गोर्खा वारियरबाट अवार्ड पाउदा उत्कृष्ट नव अभिनेत्री सृर्जना निङ्लेखुले फिल्म कर्साङबाट अवार्ड पाइन् । उत्कृष्ट अभिनेत्रीको अवार्ड भने घरज्वाँईबाट अभिनेत्री मिरुना मगरले पाइन् । फेस्टिवलमा बेलायतका लागि नेपाली राजदुत चन्द्र घिमिरे प्रमुख अतिथि रहेका थिए भने एडिनबराका सांसद फेजल चौधरी बिशेष अतिथि रहेका थिए ।