धरान: धरान उपमहानगरपालिका वडा नं १ स्थित भुपुमार्ग शान्ति टोलकी सावित्री आचार्यले २०४५ सालमा छाताचोकस्थित धरान अस्पतालमा छोरालाई जन्म दिएकी थिइन् । उनको स्मृतिमा त्यो बेलाको अस्पतालको अवस्था ताजै छ ।
आफुले छोरालाई जन्मदिएको अस्पताल परिसरमा मंगलबार बिहान पुग्दा आचार्य निक्कै दुःखी बनिन् । कारण हो, पुरानो अस्पताल भनेर परिचित धरान अस्पतालको जीर्ण र वेवारिसे अवस्था । भुत वंगला झैं बनिसकेको अस्पतालको जीर्ण भवनको छतमा पिपल र सिसौंको रुख नै उम्रिसकेको थियो । ती रुखको जराले भवनलाई झनै धराप बनाएको थियो । अस्पतालको भवन परिसर सरसफाइ नगर्दा झाडीले घेरिसकेको थियो ।
‘२०४५ सालमा मेरो छोरो जन्मिएको हस्पिटलको हालत हेर्नु त, भुत वंगला भइसकेको रहेछ,’ दुःखी हुदै आचार्यले भनिन्,‘यो त हाम्रै कर तिरेको पैसाले बनेको हाम्रो सम्पत्ति होइन त ! यसको संरक्षण गरौं, सबैबाट सहयोग जुटाएर राम्रो हस्पिटल बनाउ ।’
नगर अस्पताल बनाउने भनिएको उक्त पुरानो अस्पताल परिसरमा मंगलबार वडा नं १ को कार्यालयको आयोजनामा वृहत सरसफाई कार्यक्रम भएको थियो । सोही कार्यक्रममा सहभागी हुन आचार्य पुरानो अस्पताल परिसर पुगेकी थिइन् । उक्त धरान अस्पतालमा जन्म लिएका थुप्रै स्थानीयबासीहरु सरसफाईमा पुगेका थिए, र भवनको दुरावस्था देखेर दुःख पनि व्यक्त गरिरहेका थिए ।
सरसफाई कार्यक्रममा वडाअध्यक्ष यज्ञमणी आचार्यसहित वडाका जनप्रतिनिधिहरु, टोल विकास संस्थाका प्रतिनिधि, बाल क्लबलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र राजनीतिकर्मीहरुको पनि सहभागिता रहेको थियो ।
वडाअध्यक्ष आचार्यले अस्पताल परिसर धेरै फोहोर भएकोले पहिलो चरणमा सरसफाई गरिएको बताए । उनले २०८१ फागुन २७ गते कार्यपालिका बैठकले नगर अस्पताल बनाउने निर्णय भइसकेको र अब नगरसभाबाट पनि अनुमोदन गरेर बजेट विनियोजन गर्न पहल गर्ने बताए । ‘यो भवन नै ज्यादै जीर्ण छ, यहाँ काम गर्ने नर्सहरु, कर्मचारीहरुलाई नै असुरक्षित छन्,’ उनले भने,‘जग्गा पनि विपीको नामबाट नगरमा ल्याउन पहल पनि गर्नेछौं । अहिले वडा वडामा पहल समिति गठन भइरहेको छ ।’
नेकपा माओवादी केन्द्रका नेता फोक्वाहाङ सुब्बा (चोल्तुङ)ले स्वास्थ्य बीमाको प्रथम सेवालाई धरानमा निरन्तरता दिलाउन नगर अस्पताल बनाउन अतिआवश्यक भएकोले दबाब कार्यक्रम अन्तर्गत सरसफाई अभियान गरिएको बताए । ‘प्रसुती केन्द्र सञ्चालनमा छ, यही नै तुरुन्त आउदो कार्यपालिका बैठकले धरान अस्पताल सञ्चालन गर्ने निर्णय गर्नुपर्छ,’ उनले भने, ‘त्यो निर्णयलाई नगरसभाले पनि पास गरेर तत्काल एक करोड बजेट पनि विनियोजन गर्नुपर्छ ।’
तीन महिनाभित्र यहीको स्वास्थ्य केन्द्रलाई नगर अस्पतालकोरुपमा सञ्चालन गर्न सकिने उनले बताए । उक्त निर्णय तत्काल प्रदेश र संघीय स्वास्थ्य मन्त्रालयमा नगर सरकारले पठाएर तीन महिनापछि बीमा प्रथम सेवाको लागि धरानबासीले आन्दोलन गर्नुपर्ने वातावरण नबनोस् भनेर उनले नगर सरकारलाई आग्रह गरे । ‘यो १ नम्बर वडाको मात्र होइन, सबै धरानबासीको कार्यक्रम हो, र सरसफाई मात्र होइन, यहाँको समस्या पनि उखेल्न आएको हो,’ उनले भने,‘यहाँ हस्पिटल बनेपछि मात्र सरसफाई र हाम्रो आन्दोलनले पुर्णता पाउछ ।’
धरान अस्पतालको सेवा कसरी भयो बन्द ?
२०२८ सालमा जगन्नाथ डेडराज मातृ सेवा सदन नाम गरेर धरान अस्पताल स्थापना भएको थियो । बिशेष गरि उक्त अस्पतालमा प्रसुती सेवा रहेको थियो । पुरानो धरान अस्पतालका भवन जीर्ण भएपनि हाल त्यहाँ प्रसुती सेवा भने सञ्चालनमा छ । नेपाल सरकारको धरान अस्पतालको नाममा रहेको उक्त जग्गा २०७६ कार्तिक १६ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा गएको छ ।
हाल आधारभुत स्वास्थ्य केन्द्र एवं नगर अस्पताल नभए स्वास्थ्य बीमा सेवाको प्रथम विन्दु सेवा नै नपाउने अवस्था बनेपछि उक्त पुरानो अस्पताल क्षेत्रमा नगर अस्पताल बनाउनुपर्ने आवाज व्यापकरुपमा उठिरहेको छ । यसअघि २०८१ फागुन २७ गतेको कार्यपालिका बैठकले पनि नगर अस्पताल बनाउन वीपी प्रतिष्ठानबाट जग्गा फिर्ता ल्याउन पहल गर्ने निर्णय गरेपनि कार्यान्वयन भने हुन सकेको छैन ।
अवकाश पाइसकेका पुर्व जिल्ला स्वास्थ्य प्रमुख डा.श्रीराम साहका अनुुसार २०४५ सालसम्म धरान अस्पताल सञ्चालनमा रहेको थियो । ब्रिटिश घोपा क्याम्प धरान छोडेर जाने भएपछि त्यहाँ सरकारले क्षेत्रीय अस्पताल बनाउने निर्णय गरेको र छाताचोकको धरान अस्पताललाई पनि हेर्ने गरेको उनले बताए ।
पछि, वीपी प्रतिष्ठान स्थापना भएपनि पनि धरान अस्पतालबाट सेवा दिइरहदा एक्कासी सेवा बन्द गरेको डा.साहले बताए । ‘क्षेत्रीय अस्पताल वीपी प्रतिष्ठानले लिइसकेपछि यहाँको आधारभुत अस्पताललाई निरन्तरता दिएन, अचानक चलाउन छोड्यो,’ उनले भने, ‘त्यतिबेला यहाँका राजनीतिक दल, नागरिक समाजले हाम्रो सेवा किन बन्द गरेको भनेर आवाज उठाउन ध्यान दिएन, र नगर अस्पतालको अस्तित्व नै हरायो ।’
आमा सुरक्षा सेवा कार्यक्रम लागु भएपछि तत्कालीन स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेलको पालामा वीपी प्रतिष्ठानले सञ्चालन गर्ने भनेर सम्झौता गरेको पनि डा.साहले स्मरण गरे । तर, पैसा भुक्तानी भएर आइसकेपछि वीपी प्रतिष्ठानले कार्यक्रम सञ्चालनबाट पछि हटेको उनले बताए । सरकार परिवर्तन भएपछि मन्त्री पनि फेरिएको र धरान अस्पतालमा जग्गा छ, अस्पताल बनाउने भनेर निर्णय गरेको पनि उनले खुलाए ।
'अर्को मन्त्रीले धरान अस्पतालमा जग्गा छदैछ, हामी अस्पताल बनाउने भनेर निर्णय गर्नुभयो । त्यहीबेला प्रसुती गृह सञ्चालन गर्ने र अस्पताल बनाउने भनेर सुरु गर्यौं,' तत्कालिन जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रहेका डा.साहल भने, 'तर त्यो निर्णय पनि त्यतिकै रह्यो । म पनि सरुवा भएर गइहाले, पहल गर्ने मान्छे नै भएन ।'
संविधानले नै आधारभुत स्वास्थ्य सेवा स्थानीय सरकारको क्षेत्रमा परेकोले पनि जिल्ला स्वास्थ्य,संघीय मन्त्रालय पन्छिएको र स्थानीय सरकारले पनि ध्यान दिन नसकेको डा.साहले बताए । 'त्यहाँदेखिको अवस्था यस्तै छ, हामीले भोगिरहेका छौं, देखिरहेका छौं, दुःखलाग्दो अवस्था छ,' उनले भने ।
भिडियो: