धरान: प्रतिनिधिसभाका पुर्वसांसद एवं एमाले नेता जयकुमार राईले राजनीतिक दलहरुले सप्तकोशीको पानी धरान ल्याउन संघीय सरकारले दिने भनेको ६ अर्ब बजेटलाई अपनत्व लिदै सदुपयोग गर्नुको विकल्प नभएको बताएका छन् । 

कोशी प्रदेशका सांसदहरुको पहलमा शनिबार सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा पुर्वसांसद राईले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले कोशीको परियोजनाबारे उठेका प्रश्नहरुको समाधान गर्दे बजेटलाई सदुपयोग गर्नुपर्ने बताए । यसको लागि सबै राजनीतिक दलहरुले बजेटको अपनत्व लिदै पहल समिति पनि गठन गर्नुपर्ने उनले बताए । 

‘यो बजेटलाई सदुपयोग गर्नु बाहेकको विकल्प छैन,’ उनले भने,‘सबै दलहरुले यो बजेटलाई अपनत्व स्वीकार गर्दै धरानमा पर्याप्त मात्रा खानेपानी पिउनको लागि संघीय सरकारको बजेट ग्रहण गर्दै पहल समिति बनाएर संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई सकरात्मक बन्न अनुरोध गर्नुपर्छ ।’

धरानमा विकास भएन, मृत सहर भो भन्ने तर सरकारले दिएको बजेटलाई सहर्ष स्वीकार नगर्ने प्रवृत्ति बढेको भन्दै पुर्वसांसद राईले आक्रोश पनि पोखे । ‘एउटा न एउटा कुरा निकाल्ने र त्यसलाई निष्क्रिय बनाउने प्रवृत्ति धरानमा बढेको छ, यसले धरानको वदनाम गराइरहेको छ,’ उनले भने ।

धरानको वर्तमान नेतृत्वले सप्तकोशीको पानी ल्याउन डिपिआर अध्ययन र तयार गर्दै गर्दा आम धरानबासी, सरोकारवालाहरुसँग पर्याप्त छलफल नगर्दाको परिणाम अहिले समस्या भएको पनि पुर्वसांसद राईको आरोप थियो । उनले नगरको नेतृत्व असमक्ष भएको पनि आरोप लगाए । 

'सुरुङ मार्गबाट पानी ल्याउन असम्भव'

jay rai1 copy

कोशीको आयोजनालाई धरान-लेउती सुरुङ मार्गसँग नजोड्न पनि राईले आग्रह गरे । यो आयोजना र बजेटलाई सुरुङ मार्गसँग जोडिएमा ६ अर्ब बजेट नआउन सक्ने उनले बताए । साथै, पुर्वसांसद राईले लेउती धरानभन्दा तल पर्ने भएकोले ढ्वाङ थापेर तमोरको पानी धरानमा ल्याउन नसकिने पनि बताए । 

‘डिपिआर विना बोल्नु हुदैन । सुरुङ मार्गसँगै पानी ल्याउने कुरा पनि उठेको छ, लेउती धरानभन्दा तल पर्छ,’ सुरुङ मार्गबारे चर्चा उठेपछि उनले भने, ‘त्यसैले तपाईहरुले सोचेजस्तो ढ्वाङ थापेर ल्याउन सकिदैन । सुरुङ मार्ग मात्र निर्माण गर्ने कुरा रह्यो ।’

पुर्वसांसद राईले सुरुङ मार्ग निर्माण हुने ठोकुवा गरेपनि कहिले बन्छ भनेर भन्न नसकिने बताए । ‘यो बन्छ बन्छ तर तपाई हाम्रो पालामा बन्छ बन्दैन फाल्टो कुरा भयो,’ उनले भने, ‘केन्द्रीय सरकारको ध्यानाकर्षण भएको छ, देश सुरुङ युगमा प्रवेश गरिसकेको छ । गौरवको आयोजनाकोरुपमा अघि बढ्छ, तर खानेपानी आयोजनालाई बिषयान्तर गर्नुहुदैन । अहिलेको बजेटलाई त्यही(कोशी)बाट ल्याउनुपर्छ ।’

'सप्तकोशीबाट आयोजनाको पहिल्यै अध्ययन गरेका थियौं'

पुर्वसांसद राईले सप्तकोशीको पानी ल्याउने आयोजनाको अध्ययन पहिला नै राजनीतिक दलहरुले गरिसकेको पनि बताए । तर, धरानकै जंगलबाट बोरिङ गरेर पानी निकाल्न कम खर्च लाग्ने भएपछि आइयुडिपी प्रोजेक्टलाई प्राथमिकता दिएर कार्यान्वयन गरिएको राईले बताए ।

उनका अनुसार स्थानीय निकाय जनप्रतिनिधिविहिन भएको बेला राजनीतिक दल, उद्योग वाणिज्य संघका प्रतिनिधिहरुसहितको टोलीले सप्तकोशीको पानी ल्याउन अध्ययन गरेको थियो । आफु एमाले धरानको उपाध्यक्षको हैसियतमा उक्त टोलीमा समावेश भएको उनले खुलाए ।

‘अहिले जहाँ कुम्भमेला लाग्छ, त्यही ठाउँबाट बोरिङ गरेर पानी ल्यानुपर्छ भन्ने हाम्रो डिपिआर बनेको छ, तर त्यहाँबाट पानी ल्याउदा आइयुडिपी प्रोजेक्टको लागतभन्दा दोब्बर खर्च लाग्ने हुनाले हामीले स्थगित गर्यौं,’ उनले भने, ‘बराहक्षेत्र गाउँको पनि विरोध थियो, बोरिङ मेशिन ठुलो हुन्छ, हाम्रो स्रोत कुवाहरु सुक्छ भने । तर विज्ञहरुले सप्तकोशी नदी भएकोले चाडै रिचार्ज हुन्छ, कुवा सुक्दैन, पानी लैजान दिनुपर्छ भन्दा पनि केही सर्तहरुले लागत बढी हुने भयो ।’

पुर्वसांसद राईका अनुसार त्यसबेला अहिले जस्तो सर्दु, पटनाली, ठकुरी, बाघ खोलामा पक्की पुल थिएन । साथै, विद्युतको लागतले पनि खर्च अत्यधिक धेरै हुने भएकोले उक्त योजनालाई स्थगित गरिएको दाबी गरे । ‘त्यसपछि प्रविधिको विकास भयो, चट्टानलाई पनि फोडेर पम्पिङ गरेर पानी आउछ भन्ने भयो । र यहीको जंगल, धरान वरिपरीको स्रोत खोज्नुपर्छ भनेर लाग्यौं, र पानीको स्रोत पनि भेटियो,’ उनले भने ।

भिडियो: