धरान: भारतको दिल्ली जादै गर्दा रेलबाट खसेर घाइते भएको भनिएका धरान १७ फोक्ल्याण्ड नजिक घर भएका करिब २४ बर्षका सनम राईको उपचारको क्रममा निधन भएको छ । 

बिहारको पटनास्थित एक अस्पतालमा उपचारको क्रममाम आज बिहान ३ बजेर २८ मिनेटमा सनमको निधन भएको परिवारसँग नजिक रहेकी विशाखा बिष्टले जानकारी दिइन् । अस्पतालमा पोष्टमार्टम गरेर सनमको शवलाई आजै धरान ल्याउने तयारी भइरहेको पनि उनले जानकारी दिइन् । 

बिष्टका अनुसार घरमा आमा, दिदी र भाञ्जिसँग सनम बस्दै आएका थिए । सनम बुधबार दिउँसो छिमेकी दीपक राईसँग भारतको दिल्ली काम गर्न भनेर हिडेका थिए । दीपकको सम्पुर्ण परिवार भने दिल्लीमा बस्दै आएका छन् । उनी धरानमा आफन्तको घरमा बसेका थिए । सनम गम्भीर घाइते अवस्थामा रेल स्टेशनमा भेटिदा साथमा दीपक नभएको पटना प्रहरीले परिवारजनलाई जानकारी गराएकोले घटना शंकास्पद देखिएको साथी विशाखाले बताइन् । 

‘दीपकसँगै सनम गएको हो, रेलबाट खसेको भनेको छ, तर यस्तो घटना हुँदा प्रहरीले साथमा कोही पनि थिएन भनेको छ,’ बिष्टले भनिन्,‘सनमसँगै गएको दीपक कहाँ छ ? उसको फोन पनि स्वीचअफ भन्छ, कसैसँग सम्पर्कमा छैन । उसैले पो केही गर्यो कि ? वा उसलाई पनि केही भयो कि ? शंकास्पद भयो । त्यो भाईलाई प्रहरीले खोजी गर्र्नुपर्यो ।’

घटना हिजो बिहिबार बिहान साढे ५ बजे भएको स्थानीय प्रहरीले जनाएको छ । स्थानीय प्रहरीले नै सनमलाई उपचारको लागि अस्पताल लिएर गएको थियो । सामाजिक सञ्जालमा घाइतेअवस्थामा सनमको तस्बिर र नागरिकता सेयर भएको देखेपछि मात्र परिवारले हिजो बेलुकी थाह पाएको थियो । परिवारजन ६ बजे धरानबाट प्रस्थान गरेको र आज बिहानको करिब २ बजेतिर अस्पताल पुगेका थिए । ‘सँगै गएको दीपकलाई जसरी पनि खोजी गर्नुपर्यो, तब मात्र घटनाको वास्तविकता खुल्छ,’ विष्टले भनिन् ।