धरान: भारतको पटनामा रेल स्टेशनमा गम्भीर घाइते अवस्थामा भेटिएका धरान १७ का सनम राईको उक्त घटना शंकास्पद भएको परिवारजनले बताएका छन् ।
उनलाई लुटपाट र कुटपिट गरेर रेल स्टेशनमा फालेको परिवारको दाबी छ । घाइते अवस्थामा भेटिएका सनमको अस्पतालमा उपचारको क्रममा हिजो बिहान निधन भएको थियो । सनमको रेलबाट खसेर घाइते भएको भनि सामाजिक सञ्जालहरुमा सुचना प्रवाह भएपनि परिवारजनले भने उक्त घटना नै शंकास्पद देखिएको बताएको हो । मृतक सनमकी दिदी इन्दिरा राईले भाई रेलबाट खसेर घाइते भएको नभएर कुटपिट गरेर फालेको हुनसक्ने बताइन् ।
उनका अनुसार भाईको खुट्टा, पेटतिर कुनै चोटपटक देखिएको छैन भने अनुहार, टाउको र पछाडिको भागमा मात्र चोटपटक देखिएको छ । ‘भाईलाई कुटपिट गरेर फालेको नै हो, आफै खसेको होइन । भाईलाई दिल्ली जाउ भनेर सँगै गएको दीपक भन्ने भाई पनि गायब छ,’ उनले भनिन्,‘उसलाई पनि केही भएको थियो भने त सँगै हुनुपर्ने हो, सम्पर्कमा आउनुपर्ने हो । त्यसैले हामीले उसलाई पनि शंका गर्नुपरेको हो ।’
मृतक सनमका परिवार एवं आफन्तजनहरुले सँगै गएका दीपक सम्पर्कमा आएपछि मात्र घटनाको सत्यतथ्य जानकारी पाउने जनाएको छ । साथै, परिवारजनले घटनाबारे धरान प्रहरीलाई पनि जानकारी गराएको र आइतबार जाहेरी दिने पनि जनाएको छ । भारतमा अस्पतालमा शव लिन जादा घटनाबारे बुझन् खोज्दा यथार्थ जानकारी नपाएको पनि मृतककी दिदी इन्दिराले जानकारी दिइन् । ‘घटनाबारे प्रहरीले पनि आएर बुझेर गएको छ, कागजपत्रसहित जाहेरी दिन आउनुस् भनेको छ,’ उनले भनिन् ।
मृतकका काका राजकुमार राईले सनमले विदेशमा भएका साथीभाईसँग पैसा मागेर साथमा लिएर गएको हुनाले डकैती भएको हुनसक्ने बताए । उनले घटनाको गहिरो अनुसन्धान गरेर दोषीलाई कारबाही हुनुपर्ने माग पनि गरे । मृतक सनमका छिमेकी जसकुमार राईले सँगै गएका दीपकको एकाउण्टबाट भिडियो कलमा सम्पर्क भएको र उनको साथमा भएका व्यक्तिले दीपक पनि घाइते भएको जानकारी दिएको बताए । ‘ऊ पनि अस्पतालमा छ भन्यो, मैले देखाउनु त भन्दा टाउको र अनुहारमा चोट छ,’ उनले भने,‘नेपाल आमासँग आउने भनेको छ ।’
अर्का छिमेकी सिजन श्रेष्ठले सनम घाइते भेटिएको स्टेशन र दीपक उपचार भइरहेको ठाउँ ट्रेनमा पनि ६ घण्टा समय लाग्ने दुरीमा रहेकोले शंकास्पद भएको बताए । यद्यपी, दीपक आमासँग धरान आउने भनेकोले उनी आएपछि नै यथार्थ खुल्ने बताए । 'सनम भाई घाइते अवस्थामा भेटिदा साथमा पैसा, ब्याग केही पनि थिएन रहेछ । ट्रेनबाट खसेको भन्दा पनि शंकास्पद लाग्यो,' उनले भने ।
सनम र दीपक बुधबार दिल्ली जाने भनेर हिडेका थिए । दीपकको परिवार दिल्लीमा भएकोले उतै काम गर्ने भनेर सनमलाई पनि लिएर गएका थिए । बिहिबार एक्कासी फेसबुकमा सनम घाइते अवस्थामा पटनाको अस्पतालमा उपचार भइरहेको तस्बिरसहित पोष्ट भएको थियो । त्यसपछि उनका आफन्तजनहरु भारततर्फ गएका थिए । हिजो बिहान उपचारको क्रममा सनमको निधन भएपछि परिवारजनले शव लिएर आज बिहान घर आइपुगेका थिए । उनको आजै जातीय सँस्कार अनुसार अन्त्येष्टी गरिएको छ ।
भिडियो: