धरान: बराह सहकारी पीडित स्वतन्त्र समुहले फरार भनिएका बराहका मुख्य सञ्चालकहरु पक्राउ गर्न चासो नदिदा खुल्लमखुल्ला गतिविधि एवं चलखेल गरिरहेको गुनासो गरेका छ्न । 

समुहले शनिबार दिउँसो पत्रकार सम्मेलन गर्दै फरार सुचीमा रहेका अभियुक्तहरु शिवकुमार लामिछाने, मानबहादुर विश्वकर्मा, अमरबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायतलाई तत्काल कानुनको कठघरामा ल्याएर कानुनी राज्य भएको महशुस पीडितहरुलाई गराउन पनि माग गरेको छ । समुहका अध्यक्ष शंकर थापा गाउँलेका अनुसार फरार भनिएका बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिव लामिछानेको हालै एक पत्रिकामा अन्तर्वाता प्रकाशित भएको र उनको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट समेत गरेका थिए । 

‘यसरी कानुको नजरमा फरार व्यक्ति सामाजिक सञ्जालमा सक्रिय छ, अन्र्तवार्ता दिइरहेको छ,’उनले भने,‘यो त पीडितहरुलाई हेप्ने काम मात्र होइन, मलाई कसैले केही गर्न सक्दैन भनेर राज्यलाई नै खुल्लमखुल्ला चुनौती पनि दिएको हो ।’ उनले फरार सुचीमा रहेका मुख्य सञ्चालकहरुलाई तुरुन्त पक्राउ गर्न पनि सम्पुर्ण पीडितहरुको तर्फबाट सरकारसँग माग गरे ।

अध्यक्ष थापासहितका पीडितहरुले नै सञ्चालकहरुविरुद्ध जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरि अदालतमा ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको थियो । उनीहरुविरुद्ध सम्पत्ति सुद्धिकरणको मुद्दा पनि चलिरहेको छ । प्रहरीले केही कर्मचारी र सञ्चालकका श्रीमति पक्राउ पनि गरेको थियो । तर मुख्य अभियुक्तहरु भने फरार छन् । विगतमा पीडितहरु आफैले बराह ग्रुप अफ कम्पनी सञ्चालन गर्ने भनेर बराह व्यवस्थापन तथा अनुगमन समिति गठन भएको थियो । उक्त समितिबाट असन्तुष्टी जनाउदै २०८० चैत ६ गते उपाध्यक्षसहित १६ जनाले राजिनामा दिएर अल्लगै स्वतन्त्र समुह गठन गरेका थिए । 

'बैंकसँग सेटिङमा चलअचल सम्पत्ति लिलाम हुदै'

barah pidit

समितिले मुख्य अभियुक्तहरु पक्राउ नपर्दा पीडितहरुको विरुद्धमा गतिविधिहरु गरिरहेको पनि दाबी गरेको छ । साथै, स्थानीय तहबाट बराहको चल अचल सम्पत्तिहरु रोक्का गरेको भएपनि प्राइम कर्मसियल बैंकसँगको मिलेमतोमा लिलाम भइरहेको भन्दै समितिले आपत्ति पनि जनाएको छ । ‘यसको ज्वलन्त उदाहरण हालै काठमाण्डौंको न्यू रोडमा भएको बराह ज्वेलरीको घरजग्गा सेटिङमा एघार करोडमा बिक्री भएको छ, अन्य सम्पत्तिहरु पनि लिलाम बिक्री गर्ने गतिविधिहरु भइरहेको छ,’ अध्यक्ष थापाले भने । 

धरान १२ महेन्द्र पथ र धरान ८ धनकुटे रोडमा अवस्थित बराह मल स्तुती रिटेल्सलाई पनि बराहका सञ्चालकहरुले नै बैंकसँगको सेटिङमा लिलाम गर्न खोजेपनि वडाअध्यक्षहरुले बिक्री सिफारिश नगरेपछि सफल नभएको अध्यक्ष थापाले बताए । अहिले पुनः बैंकले बराहको भौतिक सम्पत्ति सबै आफ्नो नाममा गर्ने र अन्यलाई बिक्री गर्ने प्रपञ्च भइरहेको थापाको भनाई छ । बराह सञ्चालकहरुले अधिकांश अचल सम्पत्तिहरु प्राइम बैंकमा धितो राखेर ऋण लिएका थिए । स्तुती रिटेल्स पनि बराहकै सञ्चालकहरुले सेटिङमा आफ्नो कालोधनलाई बैध बनाउने चलखेल भएको बराह पीडितहरुको दाबी छ ।

'फेरि पीडितहरुलाई फसाउने खेल हुदै'

बराह पीडित स्वतन्त्र समुहका अनुसार बराह सञ्चालकहरुले परिचालन गरेका व्यक्तिहरुले अहिले पुनः पीडितहरुलाई फसाउने अर्को चलखेल गरिरहेका छन् । पीडितहरुलाई सम्पर्क गरेर आधा पैसा दिएर जग्गा खरिद गरेर लैजाने अफर आइरहेको तर यो पनि ठगी नै भएको अध्यक्ष थापाले बताए । 

baraha pidit press1

उनका अनुसार विगतमा पनि मुल्य बढाएर पीडितहरुलाई जग्गा देखाउने र आधा पैसा खाताबाट काटिने भन्दै आधा पैसा लिएका थिए । ‘१० लाखको जग्गाको दाम ४० लाख भनेर आधा पैसा खाताबाटै काटिन्छ, आधा मात्र दिनु भन्दै पीडितहरुलाई पहिला पनि फसाए,’ उनले भने,‘अहिले फेरि त्यस्तै धन्दा शुरु गर्दैछन्, सबै पीडितहरु सचेत हुनुस् ।’

विगतमा पनि यसरी १६ करोडको जग्गा सञ्चालकहरुले बिक्री गरेको तर संकलन भएको पैसा भने पीडितहरुलाई फिर्ता नगरेको उनले बताए । जग्गा बेचेर पैसा फिर्ता गर्ने भनेर सञ्चालकहरुले यो योजना अघि सारेका थिए । ‘त्यो पैसा त पीडितहरुलाई फिर्ता दिनुपर्ने थियो, तर सञ्चालकहरुले कहाँ लगे भनेर खोज्नुपर्ने भएको छ,’उनले भने ।

समस्याग्रस्त घोषणा नगर्दा पीडितहरु सुविधाबाट बञ्चित

बराह सहकारीलाई समस्याग्रस्त घोषणा नगर्दा पीडितहरुले संघीय र प्रदेश सरकारबाट पाउने सुविधाहरुबाट बञ्चित हुनुपरेको बराह सहकारी पीडित स्वतन्त्र समुहले गुनासो गरेको छ । पीडितहरुले बराह सहकारीलाई कार्यपालिका बैठकबाट समस्या ग्रस्त घोषणा गर्न पटक पटक माग गर्दै आइरहेका छन् ।

पीडितहरुकै माग वमोजिम २ पटक धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा एजेण्ड राखिएपनि अनुमोदन हुन सकेको थिएन । प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयसमेतको सहभागितामा गठित छानबिन समितिले पनि लेखा विज्ञस्तरीय समिति बनाएर थप विस्तृत छानबिन गर्न साथै संकटग्रस्त सहकारीको सुचनीमा राखेर सहकारी ऐन २०७५ अनुसार कारबाही प्रक्रिया अघि बढाउन उपुक्त देखिने भनि प्रतिवेदन दिएको थियो । तर, यो सुझव कार्यान्वयन तर्फ ध्यान नदिई केवल बराहलाई चलायमान गर्नुपर्छ, र मात्र बचतकर्ताको रकम फिर्ता गर्नसकिन्छ भन्ने धारणा बनाएर त्यता केन्द्रीत हुँदा समस्या झनै बढेको अध्यक्ष थापाले बताए ।

‘अहिले पनि कार्यपालिकाबाट समस्याग्रस्त सहकारी घोषणा गर्न माग गरिरहेका छौं । अब यो भन्दा अरु बाटो हाम्रो छैन,’ अध्यक्ष थापाले भने,‘समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन समिति गठन हुनुपर्छ । तब मात्र बराहको चलअचल सम्पत्तिको व्यवस्थापन कार्य अघि बढ्छ ।’ उनका अनुसार बराहलाई समयमा नै समस्याग्रस्त घोषण हुन नसक्दा संघीय सरकारले १९ वटा सहकारीलाई छानबनि गरेर हाल आंशिक बचतकर्ताहरुलाई रकम वितरण गर्दै आइरहेकोमा बराह छुटेको छ । ‘त्यसैले नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरु सबैलाई भेटेर समस्याग्रस्त सहकारी घोषणा गर्न भनिरहेका छौं, यहीबाट पनि फेरि अनुरोध गर्दछौं,’ उनले भने ।

भिडियो: