धरान: सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा गएका बराह सहकारीका तीन जना कर्मचारीले जिल्ला अदालत सुनसरीको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका छन् ।

ग्रुप अफ कम्पनीका अध्यक्ष शिव लामिछानेकी पुर्वश्रीमति रिना राई, कर्मचारीहरु अस्मिता भण्डारी र हिमप्रसाद अँखेवाले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा ७३ नम्बरको निवेदन दिएका हुन् । तीनै जनाको निवेदन चैत ३ गते दर्ता भएको थियो । उक्त मुद्दामा आइतबार न्यायाधिश नरेशकुमार चौधरीको इजलाशले कैफियत प्रतिवेदश माग गर्ने आदेश गरेको छ ।

मुलुकी देवानी कार्यविधिको दफा ७३ मा जिल्ला अदालतको पुर्पक्षमा थुनामा पठाउने निर्णयमा चित्त नबुझे त्यसविरुद्ध उच्च अदालतमा निवेदन दिनसक्ने व्यवस्था छ, जसलाई अदालती भाषामा ७३ नम्बरको निवेदन भनिन्छ । सोही व्यवस्था अनुसार पुर्पक्षको लागि थुनामा रहेका बराहका तीन जना कर्मचारीले उच्चमा निवेदन दिएका हुन् । 

सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा ९ जना पुर्पक्षको लागि थुनामा छन् । ती मध्ये ८ जना प्रहरीले अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका थिए भने हिमप्रसाद अँखेवा फागुन २६ गते अदालतमा उपस्थित हुँदा पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको थियो । प्रहरीले अनुसन्धानको लागि हिरासतमा लिएका मानबहादुर विश्वकर्माकी श्रीमति जतनमाया विश्वकर्मा, गंगा कालिकोटेकी श्रीमति सरिता कालिकोटे र सञ्चालक सदस्य विष्णुमाया तुलाधारलाई भने जिल्ला अदालतले जनही ५ लाख रुपैया धरौटीमा छाड्ने आदेश दिएको थियो ।

सञ्चालक समिति सदस्य फुलमाया राई, ऋण उपसमिति सदस्य शेरबहादुर महत, अस्मिता भण्डारी, पुर्वसञ्चालक एवं शिव लामिछानेकी पुर्वश्रीमति रिना राई, लेखा सुपरिवेक्षण संयोजक सुदिन बिक, ऋण उपसमिति पुर्वसंदस्य याम्बा भनिने इन्द्रकुमार ल्वागुन र लेखापाल अर्पणा श्रेष्ठलाई जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको थियो ।

अनुसन्धान पश्चात जिल्ला प्रहरी कार्यालय सुनसरीले २१० जना ऋणीसहित कुल २६२ जनालाई मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएकामध्ये ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ वमोजिम कसुरमा सजायको माग दाबी गरिएको छ । यस्तै, २१० जना ऋणीसहित २२२ जनालाई सहकारी ऐन २०७४ वमोजिमक कसुरमा सजाय माग गरिएको छ । पाँच वटा कम्पनीलाई पनि सम्पत्ति जफत गर्ने उद्देश्यले प्रतिवादी बनाइएको छ । 

सहकारीको नाममा रकम हिनामिना तथा अपचलन गरेको जाहेरी परेपछि जिल्ला प्रहरीले प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान गरेको थियो । प्रहरी निरीक्षक अधिकारीको अनुसन्धान प्रतिवेदनले कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैया रकम हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको छ । सहकारी ठगीका मुख्य आरोपितहरु शिवकुमार लामिछाने, मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायत भने फरार छन् ।