धरान: नेपाल सरकारले आर्थिक बर्ष २०८२/०८३ को लागि प्रस्तुत गरेको बजेटमा सुन र बहुमुल्य हिरा पत्थरमा लगाएको बिलासिता कर एवं भ्याट खारेजीको माग गर्दै धरानमा सुनचादी व्यवसायीहरुले विरोध र्याली निकालेका छन् ।
सुनसरी सुनचादी व्यवसायी संघ, नेपाल सुनचादी कला व्यवसायी संघ सुनसरी र सुनसरी रत्न तथा आभुषण संघको अगुवाईमा आज (बिहिबार) धरानमा र्याली निकालिएको हो । धरान वडा २ स्थित सुनचादी व्यवसायी संघको कार्यालयबाट निस्किएको र्याली ईलाका प्रशासन कार्यालयमा पुगेको थियो । व्यवसायीहरुले इलाका प्रशासनमार्फत अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् ।
सरकारले प्रस्तुत गरेको बजेटमा सुनमा बिलासिता कर २ प्रतिशत लगाउने उल्लेख छ । यो व्यवस्थाले पटकै पिच्छे बिक्रीमा २ प्रतिशत कर लाग्ने र यो कर मात्र उपभोक्तालाई कम्तीमा ६ प्रतिशत पर्ने व्यवसायीहरुको भनाई छ । ‘२ प्रतिशत कर भनेको ३८ सयले करिब ११ हजार ४ सय उपभोक्तालाई पर्न आउछ । नगद सम्पत्तिमा यस किसिमको कर लगाउन पाइदैन,’ मन्त्रालयमा पठाएको ज्ञापन पत्रमा उल्लेख छ ।
यस्तै, हिरा पत्थर जडित सुनका गरगहनाहरुमा १३ प्रतिशत भ्याटबाट उपभोक्ताले खरिद गर्न, व्यवसायी तथा कालिगढले कारोबार गर्न नसक्ने र तस्करीलाई प्रोत्साहन हुने व्यवसायीहरुको भनाई छ । यसमा १३ प्रतिशत कर भन्नाले २४ हजार ७ सय पर्न आउने र यसले विदेशी गहना भित्रिने र अवैध कारोबार वृद्धि हुने भएकोले यो व्यवस्था पनि खारेज गर्न व्यवसायीको माग छ ।
यसैगरि, व्यवसायीहरुले सुनको भन्सार दर ६ प्रतिशत कायम गर्न पनि माग गरेका छन् । नेपालमा हाल सुनसको भन्सार दर १० प्रतिशत रहेको छ । व्यवसायीहरुले बिलबिजकबाट कारोबार गरेर गरीखाने व्यवस्था गर्न, सुनचादी कारोबारको लागि प्रष्ट निती नियमावली निर्माण गर्न पनि माग गरेका छन् ।
भिडियो: