धरान: राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रदेशस्तरको यु १४ दुई दिने थ्री बाई थ्री राष्ट्रिय बास्केटवल प्रतियोगितामा गोल्ड मेडल विजेता खेलाडीहरुलाई धरानमा सम्मान गरिएको छ । 

कोशी प्रदेशको प्रतिनिधित्व गर्दै गएको टिमले पहिलो पटक गोल्ड मेडल जितेर इतिहास रचेको प्रशिक्षक रोशन राईले बताए । प्रशिक्षक र ४ जना खेलाडीहरुलाई धरानका मेयर हर्र्कराज राई (साम्पाङ)ले बुधबार सम्मान गरेका थिए । प्रशिक्षक राईसँगै खेलाडीहरु सम्योक राई, गौरव गुरुङ, साङ्केन सुनुवार र रोनिज खतिवडालाई मेयर साम्पाङले खादा, बुन्छत लगाएर सम्मान गरेका थिए । यस्तै, खेलाडीहरुले जितेर ल्याएको मेडल पनि लगाइदिएर मेयर साम्पाङले सम्मान गरेका थिए ।

basket2

दुई दिने प्रतियोगिताको फाइनलमा कोशी प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै गोल्ड मेडल जितेको थियो । कोशीले मधेशलाई १८–१२ स्कोरले पराजित गरेको थियो । प्रतियोगिता राखेपको इन्डोर कोर्टमा आयोजना भएको थियो । प्रदेशको प्रतिनिधित्व गर्ने टिममा रहेका चारै जना खेलाडीहरु धरानकै भएको प्रशिक्षक राईले जानकारी दिए । उनले भने,‘अहिलेसम्म बास्केटवलमा कोशी प्रदेशले गोल्डमेडल जितेको थिएन । चारै जना खेलाडी धरानकै हुन् । त्यसैले हाम्रो लागि यो गौरवको कुरा हो ।’

basket

मेयर साम्पाङले खेलाडीहरुलाई अनुशासित हुन आग्रह गर्दै सधै पहिलो हुने प्रयास जारी राख्नुपर्ने बताए । ‘सधै राम्रो खेलेर प्रतियोगिताहरुमा सधै विजेता बन्ने प्रयास गरिरहनुपर्छ,’ मेयर साम्पाङले भने,‘युवाहरु गलत संगतमा फस्न हुदैन । लागुऔषध, खैनी, चुरोटबाट टाढै रहनुपर्छ ।’ १४ बर्ष पनि नपुगी यो सफलता हासिल गरेको भन्दै मेयर साम्पाङले अब अन्र्तराष्ट्रिय सफलता पनि हासिल गर्न कडा मेहनत गर्न खेलाडीहरुलाई सुझाव दिए । खेलाडीहरुको सफलतामा प्रशिक्षकको पनि धेरै मेहनत पर्ने भन्दै मेयर साम्पाङले विजेता टिमको प्रशिक्षक रोशन राईलाई पनि बधाई दिए ।

भिडियो: