धरान: निरम प्रोडक्सन कुवेतले म्युजिकल फेस्टिवल आयोजना गरेर संकलित मुनाफा रकमबाट धरानको सामाजिक तथा शैक्षिक संस्थालाई सहयोग पठाएको छ ।

उक्त संस्थाले मेयर हर्कराज राई (साम्पाङ) को सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियान, धरान १ स्थित पुर्नस्थापना गृह र धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयलाई आर्थिक सहयोग गरेको हो । तिनै वटा संस्थालाई निरम प्रोडक्सनले २५/२५ हजारको दरले सहयोग गरेको छ । उक्त संस्थाले पठाएको सहयोग रकम बुधबार पत्रकार रोहित राईले सम्बन्धित संस्थामा पुगेर प्रदान गरेका थिए । पत्रकार राईले सुम्निमा पारुहाङ प्रतिष्ठानका कोषाध्यक्ष दत्त लिम्बु, पुर्नस्थापना गृहकी सञ्चालिका लक्ष्मी राई र ज्ञान चक्षु विद्यालयका प्रअ प्रमोद भण्डारीलाई रकम हस्तान्तरण गरेका थिए । 

निरम प्रोडक्सन कुवेतमा नेपालीहरुले सञ्चालन गरेको एक स्थापित मिडिया तथा सांस्कृतिक संस्था हो । यसले प्रवासी नेपाली समुदायलाई नेपाली कला, संगीत, साहित्य र संस्कृतिसँग जोड्ने उद्देश्य राखेको छ। यो संस्थाले विदेशमा रहेर पनि नेपाली मौलिकता र पहिचान जगेर्ना गर्ने कार्यमा विशेष योगदान पुर्‍याउँदै आएको छ।

nirem1 

निरम प्रोडक्सन, निरम ग्रुप अन्तर्गतको एक सहायक संस्था भएको अध्यक्ष प्रेमकुमार जिमीले जानकारी दिए । उनका अनुसार यो संस्थाले मिडिया, यात्रा तथा पर्यटन र प्रविधिको क्षेत्रमा विभिन्न सेवा प्रदान गर्दै आएको छ। निरम प्रोडक्सनले हरेक वर्ष चर्चित कलाकारहरु निमन्त्रणा गरेर निरम म्युजिकल फेस्टिवल आयोजना गर्दै आएको छ । सन् २०२५ मा सम्पन्न फेस्टिवलमा नेपालका लोकप्रिय गायक–गायिका तृष्णा गुरुङ र हिमाल सागरले आफ्नो आकर्षक प्रस्तुति दिएका थिए । 

निरम प्रोडक्सनले हरेक बर्ष म्युजिकल फेस्टिवल जस्ता कार्यक्रमहरू आयोजना गर्ने र त्यसबाट संकलन भएको केही मुनाफा सामाजिक कार्यमा खर्च गर्दै आएको पनि अध्यक्ष जिमीले बताए । यो बर्षको मुनाफाबाट ज्ञान चक्षु विद्यालय, पुर्नस्थापना गृह र धरानका मेयर हर्क साम्पाङको अभियानअन्तर्गत सुम्निमा पारुहाङ प्रतिमा स्थापनाका लागि सहयोग गर्ने निर्णय भएकोले उक्त रकम पठाएको पनि उनले बताए । हाम्रो संस्थाले प्रवासी नेपालीहरूको प्रतिनिधित्व गर्दै मातृभूमिप्रतिको माया र उत्तरदायित्वलाई कर्ममा रूपान्तरण गर्दै आएको छ, उनले भने, यस संस्थाले आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक र सामाजिक अभियानलाई निरन्तरता दिँदै जानेछ । 

भिडियो :