धरान: मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट कोशी प्रदेशभरि कार्य क्षेत्र रहने गरि प्रादेशिकस्तरको विकास बैंककोरुपमा इजाजत पाएको छ । 

बैंकले सोमबार पत्रकार सम्मेलन गरेर गत चैत २० गते कोशी प्रदेश कार्य क्षेत्र रहने इजाजत प्राप्त भएको जानकारी दिएको छ । आजभन्दा करिब १९ बर्षअघि स्थापना भएको यो बैंकको प्रधान कार्यालय धरानमै छ । शुरुवातमा नेपाल राष्ट्र बैंकबाट ३ जिल्ला कार्य क्षेत्र भएको विकास बैंककोरुपमा इजाजत पाएर १ करोड ५८ लाख चुक्ता पूजीबाट सञ्चालनमा आएको बैंकका अध्यक्ष किसन मास्केले जानकारी दिए । 

तीन जिल्ला कार्यक्षेत्र रहेको बैंकले पछि धनकुटा र उदयपुर थप गरि पाँच जिल्ला कार्यक्षेत्र बनाएको थियो । यसअवधिमा बैंकले हकप्रद शेयर, प्राथमिक शेयर निष्काशन तथा बोनस शेयरको माध्यमबाट चुक्ता पूँजी १ अर्ब २१ करोड ७१ लाख पुर्याएको पनि अध्यक्ष मास्केले बताए । 

बैंकका अनुसार निक्षेप ६ अर्ब २० करोड र कर्जा ५ अर्ब १७ करोड रहेको छ । ‘खास गरि हामीले खुशी साट्न बोलाएका हौं,’ अध्यक्ष मास्केले भने,‘बैंकको कोशी प्रदेशभरि कार्यकक्षेत्र भएको छ । अब पहाडी जिल्लामा पनि शाखा विस्तार गर्नेछौं ।’ उनका अनुसार धनकुटामा चाडै शाखा विस्तार हुनेछ भने इलाममा विस्तार गर्न अध्ययन भइरहेको छ । हालसम्म बैंकको १८ वटा शाखा रहेको छ । ‘हामी कर्जाको फाइल आएकै दिन हुदैन भने हुदैन भन्छौं, मिल्छ भने भोलीपल्ट नै कर्जा दिने गरि छिटोछरितो काम गछौं,’अध्यक्ष मास्केले भने ।


बैंकका तत्कालिन सिइओ तुलसीप्रसाद वस्तीले अवकाश लिएपछि करिब ३ महिना अघि नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनन्तकुमार चापागाई आएका छन् । नविल, एभरेष्ट, लुम्बिनी हुदै पछिल्लो समय प्राइम कर्मसियल बैंकमा डिजिएम रहेका चापागाईसँग बैंकिङ क्षेत्रको ३ दशक अनुभव रहेको छ । 

सिइओ चापागाईका अनुसार राष्ट्र बैंकको नीति नियम र निर्देशनभित्र रहेर कारोबार गरिरहेकोले खराब कर्जा एक प्रतिशतभन्दा कम रहेकोछ । ‘देशकै उत्कृष्ट विकास बैंककोरुपमा नयाँ उचाईमा पुर्याउनेछौं,’ सिइओ चापागाईले भने । बैंकले १८ वटा शाखामार्फत कृषि, व्यापार, घरकर्जालगायत विभिन्न क्षेत्रमा ऋण लगानी गरेको पनि उनले बताए । ‘राष्ट्र बैंकले तोकेको नीति, मापदण्ड पालना गरेर लगानी गरेका छौं । साना तथा मझौला कर्जामा बढी फोकस छौं,’उनले भने ।