धरान: मोटरसाइकल, स्कुटर र टेम्पो चोरीको घटना सुन्दा सामान्य नै लाग्न थालेको छ । तर, एउटा सिंगै बस चोरी भएको सुन्दा भने पत्याउन गाह्रै पर्छ ।
कागजपत्र बिना चोरी गरेको बस कता लैजाने ? पक्कै पनि चोरलाई सहज हुदैन । तर शुक्रबार धरान ८ स्थित एक ग्यारेजबाट यस्तै अचम्मको बस चोरी भएको छ । बिहान करिब ३ बजेर ३८ मिनेटमा धरान ८ दुर्गापथस्थित ग्यारेजबाट चोरले बस चलाएर लैजादै गरेको सिसिटिभी फुटेजमा देखिन्छ ।
यो चोरीको घटना सुनाउदा बसका मालिक (चालक पनि आफै) बिक्रम लिम्बु समेत हाँसो रोक्न सक्दैनन् । ‘मेरो बस चोरी भयो भनेर सुनाउदा कसैले नै पत्याइदिएन, हुन पनि यत्रो बस कसरी चोरी हुन्छ ? सुन्दा हाँसो उठ्छ,’ उनले सुनाए । उनको ९७४९ नम्बरको बसको अगाडि शिशामा सिद्धदेवी यातायत लेखिएको छ भने शिशा मुनिको भागमा याक्थुङ यातायात पनि लेखिएको छ ।
बिक्रम बस्ने घरभन्दा करिब ५० मिटरको दुरीमा छ ग्यारेज । सधै झैं उनले बिहिबार बेलुकी पनि बस त्यही राखेका थिए । सोमबार दिउँसो करिब १ बजे इलाम जाने पालो थियो । बिक्रम बिहान करिब १० बजेतिर ग्यारेज पुग्दा बस थिएन । ‘कोही साथीभाईले पो लग्यो कि भनेर धरानको सबै ग्यारेजतिर सोधीखोजी गर्यौं, कही भेटिएन । त्यसपछि सिसिटिभी फुटेज हेर्दा चोरेर लैजादै गरेको देखियो,’ उनले भने ।
बस चोरी भएकोबारे ट्राफिक प्रहरीसमेतलाई खबर गरिसकेका छन् । खोजी गर्ने क्रममा सिसिटिभीको मद्दतले हेर्दा मदन भण्डारी राजमार्गबाट पानवारी हुदै चोरले पुर्वतर्फ बस लगेको देखिएको पनि लिम्बुले जानकारी दिए । चोरले बस बरगाछी, श्यामचोक हुदै पानवारीतर्फ गएको देखिएको पनि उनले बताए ।
‘खोर्सानेसम्म बस देखिएको छ, त्यहाँबाट चै कता लग्यो भन्ने थाह भएन,’उनले भने,‘चोरलाई बसको बारेमा सबै कुरा जानकारी रहेछ । मैले चाबी कहाँ राख्छु, कसरी ढोका खोल्ने सबै राम्रो थाह भएको मान्छे हो । तीनकुने हुदै इटहरी जादा चेकिङ हुन्छ भनेर मदन भण्डारी राजमार्गबाट गएको छ ।’
हराएको बस निरन्तर खोजी गरिरहेको र कसैले देखेमा प्रहरीमा वा आफ्नो फोन नम्बर ९८०४३९०५९५ मा खबर गरिदिन उनले आग्रह गरे । बिक्रमको गाडीसँगै पानीको ट्यांकर राखेका नारायण कटवाल बिहान साढे ५ बजे आउदा बस नदेखेको बताए । ‘म साढे ५ बजे आउदा बस थिएन । रिजर्ब पो लगेछ कि भन्ने सोचे,’ उनले भने,‘भरै साढे १० बजे पो चोरी भएको थाह भयो । यो त पत्याउनै गाह्रो भो ।’
भिडियो: