धरान: इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट आएको टोली धरानका मेयर हर्कराज राई (साम्पाङ)सँग भेट गरेर फर्किएको छ ।

अनुसन्धान अधिकृत एवं नेपाल प्रहरीका डिएसपीको नेतृत्वमा आएको टोलीले मेयर साम्पाङलाई उनकै कार्यकक्षमा भेट गरेको थियो । उक्त भेटमा मेयर साम्पाङले अख्तियारमा दिएको विभिन्न उजुरी र मेयर साम्पाङविरुद्ध परेको उजुरीको बिषयमा कुराकानी भएको बताइएको छ । अख्तियारको टोली अनुसन्धान एवं सोधपुछको लागि आउन लागेको सुचना मेयर साम्पाङ स्वयमले करिब एक साता अघि नै सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए । 

मेयर साम्पाङले मिडिया पनि सँगै राखेर कुरा गर्ने फेसबुकमा पोष्ट गरेपछि अख्तियार हच्किएको थियो । यद्यपी, धरानका डिएसपी प्रकाश जबेगुमार्फत अख्तियारले मेयर साम्पाङसँग संवाद गरेपछि आज (शुक्रबार) मिडियाको उपस्थिति विना नै भेट भएको थियो। अख्तियारबाट आएको टोलीले मिडियासँग प्रतिक्रिया दिन चाहेनन् । ‘हामी धरान आउने क्रममा यहाँ पनि पसेको हो, अरु त्यस्तो केही होइन्,’ प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गर्नुअघि अख्तियारबाट आएका एक अधिकृतले भने । 

अख्तियारले विगतमा २ पटक पत्राचार गर्दै मेयर साम्पाङसँग श्रमदानमार्फत कोकाहको पानी ल्याएको अभियानबारे सोधेको थियो । अख्तियारलाई पठाएको जवाफी पत्र मेयर साम्पाङ आफैले फेसबुकमा सार्वजनिक पनि गरेका थिए । मेयर साम्पाङले आज (शुक्रबार) अख्तियारको टोली आएको जानकारी दिदै सामान्य भेटघाट मात्र भएको बताएका छन् । वडा १० स्थित सैनिक भवनमा एक कार्यक्रमको बीच पत्रकारले सोधेको प्रश्नको जवाफमा मेयर साम्पाङले भने,‘अख्तियारको टोली आएको थियो । जस्ट कर्टेसी टाइपको भेटघाट थियो ।’

यद्यपी, मेयर साम्पाङले आफुले लगाएको उजुरी र आफुविरुद्ध परेको उजुरीको सन्दर्भमा पनि कुराकानी भएको खुलाए । ‘मैले लगाएको पहिलाको उजुरीको कुरा गर्नुभयो । जस्ट कर्टेसी टाइपको थियो भेटघाट,’ मेयर साम्पाङले भने,‘मेरोबारेको उजुरीमा पनि उहाँहरुले उजुरी लाइरहन्छन्, अन्यथा मान्नु हुन्न भन्ने थियो । सामान्य भेटघाट भयो ।’ अख्तियारको टोलीले मेयर साम्पाङसँग करिब आधा घण्टा भेट गरेपछि प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईलाई पनि भेटेका थिए ।

राती काम भएको वडा ४ को पिच परीक्षण

अख्तियारको टोलीले धरानको वडा नं ४ खैरेनीटार र वडा १५ निराजन बस्ती जोड्ने पुलको दुवैतर्फ राती पिच गरेको ठाउँको परीक्षणको लागि रोडको थिकनेस कोटेर लगेको छ ।

धरान उपमहानगरपालिकामा मेयर साम्पाङ र प्रमुख प्रशासकीय अधिकृत चौलगाई भेटेपछि अख्तियारको टोली वडा ४ पुगेको थियो । केही महिनाअघि रातीको समयमा उक्त पिच भएपछि मेयर साम्पाङले अनुगमनमा आएका प्रदेश सरकारका मन्त्रीसमेतको विरुद्ध अख्तियारमा उजुरी दिएका थिए । सोही उजुरीकोबारेमा छानबिन तथा अनुसन्धान गर्न अख्तियारको टोली परीक्षण गर्ने मेशिनसहित धरान आएको थियो ।

अख्तियारको टोली ईलाका प्रहरी कार्यालय धरानको गाडीमा आएको थियो भने परीक्षण मेशिन बोक्ने थप अर्को पिकअप गाडी पनि थियो । वडा ४ मा पिचको थिकनेच काट्न, चौडा नाचजाच गर्न, मुचुल्का उठाउन अख्तियार टोलीलाई करिब ४ घण्टा जति समय लागेको स्थानीयले जानकारी दिए । ‘उजुरी परेको रोडको थिकनेस काटेर लग्यो, चौडा पनि नापेर गयो । समय ३, ४ घण्टा नै लगायो,’ एक स्थानीयले भने,‘भिडियो, फोटो कसैलाई लिन दिएन । वडा ४, ५ र १५ को जनप्रतिनिधिलाई सहि गरायो, स्थानीयलाई पनि ल्याप्चे हान्न लगाएर अख्तियार टोली फर्कियो ।’