धरान: प्रथम मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता धरानमा शुरु भएको छ ।
धरान उपमहानगरपालिकाको संयोजन तथा धरान सिटी फुटबल क्लब आयोजक रहेको प्रतियोगिताको उद्घाटन शुक्रबार पुर्व संघीय सांसद जयकुमार राईले गरेका थिए । प्रतियोगिता धरान १६ स्थित रंगशालामा असार १४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा धरान लेडिज क्लबले अलस्टर क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । जितसँगै धरान लेडिज क्लब सेमीफाइनल प्रवेश गरेको छ ।
लेडिज क्लबका सुनिता राईले २ गोल गरिने भने कृष्णा राई र हाङ्गमा राईले १।१ गोल गरेकी थिइन् । प्रतियोगिताको म्यान अफ द म्याच कृष्णा राई घोषित भइन् । उनले पुरस्कार स्वरुप नगद २ हजार र प्रमाणपत्र हात पारिन् ।
नकआउट आधारमा हुने प्रतियोगितामा विभिन्न ८ क्लब सहभागी रहेको छ । आयोजकका अनुसार अल स्टार फुटबल क्लब, धरान लेडिज क्लब, प्रगतिशिल फुटबल क्लब, धरान ४ फुटबल क्लब, फेयर फुटबल क्लब, धरान १३ स्पोर्टिङ फुटबल क्लब, सिग्मी फुटबल क्लब र पटनाली फुटबल क्लब प्रतियोगितामा सहभागी रहेको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ५० हजार पुरस्कार पाउनेछ भने उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछ । यस्तै, उत्कृष्ट खेलाडीले नगद ५ हजार हात पार्नेछ भने उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट कोच र उदयीमान खेलाडीले जनही नगद २ हजार पुरस्कार पाउनेछन् । साथै, वेष्ट टिमले नगद ३ हजार पुरस्कार पाउदा प्रत्येक खेलको म्यान अफ दि म्याच खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजक क्लबले जानकारी दिएको छ ।