धरान: धरान वडा नं ६ स्थित पाँचकन्या जंगलमा सोमबार मृत भेटिएकी युवतीको हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय सुनसरीले डिएसपी नेतृत्वमा टिम बनाएर अनुसन्धान शुरु गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एवं एसपी सुमनकुमार तिम्सिनाले धरानका डिएसपी प्रकाश जबेगुको नेतृत्वमा १० जनाको टोली अनुसन्धानमा परिचालन भएको छ । शव भेटिएको २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि मृतकको पहिचान खुल्न सकेको छैन । प्रहरीले मृतकको तस्बिर र हुलिया सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेको छ ।
घटनाबारे जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले मृतकको शारीरिक अवस्था गहिरिएर अनुसन्धान गर्नुपर्ने देखेपछि आफुसमेत घटनास्थल पुगेको एसपी तिम्सिनाले बताए । ‘मृतकको शरीरको अवस्था सामान्य तरिकाको थिएन । प्रारम्भिकरुपमा कर्तव्य गरि मारेजस्तो देखिएको छ र, डिएसपी प्रकाश जगेबुको संयोजकत्वमा १० जनाको अनुसन्धान टिम नै लाश सनाखत गर्ने र अनुसन्धान कार्य भइरहेको छ,’ एसपी तिम्सिनाले भने ।
'मृतकको कम्मरमुनि कपडा थिएन '
सोमबार साँझ प्रहरीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तस्बिर र हुलियामा मृतकको कम्मर माथिको कपडा मात्र थियो । लाश पनि भुईमा सुतेको अवस्थामा थियो । जसले गर्दा शुरुवातमा शव कुन अवस्थामा थियो भन्ने खुल्न सकेको थिएन ।
प्रहरीले सार्वजनिक गरेको भन्दा पृथक र शंकास्पद देखिने मृतकको तस्बिर सामाजिक सञ्जालमै भेटिएको छ । उक्त तस्बिरमा मृतक महिलाको कम्मरमुनिको कपडा खोलिएको छ । यसले उनलाई कतै बलात्कार पछि हत्या गरेको हो कि भन्ने आशंका पनि जन्माएको छ । प्रहरीले बलात्कार भए नभएको प्रतिक्रिया दिएको छैन, तर हत्या गरेको प्रशस्तै आधारहरु रहेको भने स्वीकार गरेको छ ।
सोमबार घटनास्थल पुगेका वडा नं ६ लिम्बुचौरीका हर्कराज राईले पनि मृतक कम्मरमुनि नग्न अवस्थामा देखिएको बताए । उनका अनुसार मृतक महिला रुखमा अडेस लागेको र घाँटीमा कालो डोरीजस्तोले बेरिएको पनि थियो । ‘उसलाई मारेकै हो, आफै मरेको भए त कपडा खोलेर नाग्न भएर कसरी मथ्र्यो र ?’ उनले भने ।
वडा नं ६ का वडा सदस्य नारायण निरौलाले पनि चिनजानकै व्यक्तिले जंगलमा ल्याएर हत्या गरेको हुनसक्ने बताए । पानवारीका बासिन्दाहरु बिहान ९, १० बजेतिर बाख्रा चराउन जंगल आउने र साँझ घर फर्कने जानकारी दिदै उनले उक्त घटना पनि सोमबार मिर्मिरे बिहानमा वा आइतबार राती भएको हुनसक्ने बताए । ‘अस्ति आइतबारको दिन भए त साँझ फर्कदा देख्नुपर्ने हो, गोरेटो नजिकै थियो,’ उनले भने,‘हिजो बिहानै घटना भएको हुनुपर्छ, त्यही भएर बिहान बाख्रा चराउन आउदा गोठालाले देखे ।’
लिम्बुचौरीका महिलाहरु बाख्रा चराउन आउदा लाश देखेपछि होहल्ला गर्दै गाउँमा खबर गरेका थिए । गाउँलेले जनप्रतिनिधिलाई खबर गरेपछि वडाका जनप्रतिनिधिले प्रहरीलाई जानकारी दिएका थिए ।
भिडियो:
भिडियो: