धरान: कोशी प्रदेश खुल्ला बास्केटवल प्रतियोगिताको उपाधि सुनसरी बास्केटवल टिमले जितेको छ । सुनसरी लगातार छैटौं पटक च्याम्पियन भएको हो ।
धरान बास्केटवल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास वोर्डको संयोजनमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा सुनसरीले इलाम बास्केटवल टिमलाई ८०–७३ अंकको अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न फाइनलको पहिलो क्वार्टरमा इलाम २५–११ स्कोरले अगाडि रहेको थियो भने दोस्रो क्वार्टरमा सुनसरी र इलामले १६–१५ स्कोर गरेको थियो । तेस्रो क्वाटरमा सुनसरी लयमा फर्कदै ३१–११ अंकको अग्रता लिएको थियो । चौथो क्वाटरमा सुनसरी र इलामले २२–२२ बराबर अंक जोडेपनि सुनसरीले उपाधि हत्यायो ।
सुनसरीले काठमाण्डौमा सम्पन्न पाँचौ, धनगढिमा सम्पन्न छैटौ, पूर्वाञ्चल हाल कोशी प्रदेशमा सम्पन्न सातौ, मध्य पश्मिाञ्चलमा सम्पन्न आठौ र गण्डकी प्रदेशमा सम्पन्न नवौ राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि प्रदेश स्तरीय प्रतियोगितामा लगातार प्रदेश च्याम्पियन बनेर डबल ह्याट्रिक गरेको थियो ।
उपाधिसंगै सुनसरी टिमले नगद दुई लाख रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता इलामले नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच सुनसरी टिमका कैलश लिम्वु घोषित भए । यसैगरि, प्रतियोगिताको धरान मेघा उत्कृष्ट खेलाडीको उपाधि सुनसरी टिमका सुशन श्रेष्ठ घोषित भए। उनले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।
विजेता तथा उपविजेता टिमलाई सुनसरी बास्केटल संघका अध्यक्ष नारायण सुवेदी, पुर्वसांसद जयकुमार राई, सुनसरी बास्केटवलका उपाध्यक्ष विवेक राई, नेपाली कांग्रेस महासमिति सदस्य सुवास राई, डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अमर लिम्वु, सदस्य सुर्य पन्धाक लिम्वु, प्राचार्य राजकुमार राई, नेपाल पत्रकार महासंघ सुनसरी निर्वतामान अध्यक्ष जनकऋषि राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको समापन कार्यक्रमको प्रमूख अतिथी कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाचकर्ण राई रहेका थिए । धरान उपमहानगरपालिका र सुनसरी बास्केटवल संघको विशेष सहयोगमा सम्पन्न प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरि ८ वटा जिल्ला टिमले सहभागिता जनाएको थियो ।