धरान: चालिसको दशको मध्यतिर बम्बईमा एउटा यस्तो गीत रेकर्ड भयो, जुन नेपाली सांगीतिक क्षेत्रको कालजयी गीत बन्यो । 

भनिदेउ आज के छ मनमा..बोलको गीत २०४५ सालमा रिलिज भएको नेपाली फिल्म मायालुमा समेटिएको थियो । यो गीत यति चर्चित बन्यो कि गायक मिलनसिंह खातीको परिचय नै यही गीत बन्यो । तर, बम्बईमा गीत रेकर्ड भइसक्दा पनि फिल्ममा समेटिन्छ कि समेटिदैन भनेर उनैलाई अन्योल थियो । तर जब फिल्म रिलिज भयो, यो गीतले बजार पिट्यो ।

उनै गायक खातीलाई शनिबार धरानमा विश्व संगीत दिवसको अवसरमा सम्मान गरिएको छ । धरान संगीत प्रतिष्ठानले स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत ७३ बर्षीय गायक खातीलाई कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सम्मान पत्रद्धारा सम्मान गरेका थिए । 

milan khati6

गायक खातीले सम्मान भन्दा पनि ठुलो धरानबासीहरुको माया पाएको भन्दै खुशी व्यक्त गरे । गायक खातीले सय भन्दा बढी गीतहरु गाएका छन्, तर मायालु फिल्मको लागि उनले गाएको भनिदेउ आज के छ मनमा..बोलको गीतबाट उनी परिचित छन् । यो गीत उनको सांगीतिक करिअरको टर्निङ पोइन्ट पनि हो । ‘मेरो जीवनको टर्निङ पोइन्ट नै यही गीत हो । थुप्रै गीतहरु गाएको छुँ, तर यो गीतबाट नै मेरो परिचयन बन्यो,’ उनले भने ।

खातीले गाएको यो गीत नेपाली सांगीति क्षेत्रका कालजयी गीतहरुमध्ये एक हो । यो गीत उनी मुम्बई पुगेर रेकर्ड गराएका थिए । गीत रेकर्ड गराउने अवसर पाउदाको पनि रोचक कहानी रहेको उनले सुनाए । ‘मेरो ससुराली पनि दार्जिलिङ नै हो । ससुरालीमा जादा बिहे कार्यक्रममा रनजित गजमेर ज्युकी श्रीमति कुसुम गजमेर भेट भयो । ससुराली परिवारले हाम्रो ज्वाई पनि गाउनुहुन्छ भन्नुभएछ,’ गायक खातीले सुनाए,‘उहाँहरुले पनि नयाँ गायक खोजिरहनुभएको थिएछ, स्वर भरेर क्यासेट पठाउनुभन्नुभयो ।’

milan khati

त्यसपछि आफुले गुलाम अली र केही नेपाली गीतहरु क्यासेटमा रेकर्ड गरेर पठाएको खातीले बताए । यसरी नै थुप्रै गायकहरुले क्यासेट पठाएको भएपनि रनजित गजमेरले आफ्नो स्वर मनपराएर सिधै गीत रेकर्ड गर्न बम्बई बोलाएको पनि खातीले खुलाए । यो गीत रेकर्ड भएर चलचित्र मायालुमा समेटिएपछि चर्चित भयो । 

गायक खाती पित जनकसिंह र माता पवित्रा सिंह खातीको कोखबाट २००८ सालमा दार्जिलिङमा जन्मिएका थिए । तर, ५ बर्षकै उमेरमा आमा, बुबासँग उनी धरान आएका थिए । उनका बुबा ब्रिटिश घोपा क्याम्पमा कार्यरत थिए । त्यसैले उनी यही हुर्किए, यही पढे । सानैदेखि गायनमा रुचि भएका उनले २०२६ सालमा गायन प्रतियोगिता नाइटिंगेल आफ धरानमा प्रथम भएपछि बुबाले थप प्रेरणा दिदै संगीत पढ्न कलकत्ता पठाए । करिब ६ बर्ष उनले शास्त्रीय र आधुनिक संगीत अध्ययन गरेका थिए । 

milan khati2

गायक खाती आफै गीत लेख्छन्, संगीत पनि भर्छन् । भारतको विभिन्न भाषाभाषीको गीतहरु पनि गाएका छन् । उनले २३ बर्ष काठमाण्डौंमा संगीत पढाएर बसे । अहिले पनि बसाई काठमाण्डौंमा छ । तर उनलाई धरान नै प्यारो लाग्ने बताए । श्रीमति लक्ष्मी सिंहको साथले पनि उनलाई गायनमा प्रेरणा मिलिरह्यो । ‘गीत, संगीतबाट कमाउनु न त्यस्तै हो, संगीत नै मेरो प्राण हो । एक दिन रिजाय गरिन भने के छैन, के छैन जस्तो हुन्छ,’उनले भने,‘स्वास्थ्यले साथ दिदासम्म गाइरहन्छु ।’ गायक खातीले भनिदेउ आज..बोलको गीत कार्यक्रममा गाएका पनि थिए । उनलाई यो गीतमा मेरी शाक्यले साथ दिएकी थिइन् । 

भिडियो: