धरान: धरान वडा नं १६ नौलो बस्तीमा निर्माणाधिन प्रहरी चौकीको काम मेयर हर्कराज राई (साम्पाङ)ले रोकेपछि उत्पन्न भएको विवादबारे वडा कार्यालय र स्थानीयबासीले पत्रकार सम्मेलन गरेका छन् ।

सोमबार दिउँसो २ बजे तारा सुब्बा स्मृति पार्कमा पत्रकार सम्मेलन गर्दे वडाअध्यक्ष मुरारी भट्टराईले २०८० जेठ १७ गते वडा कार्यालयले नौलो बस्तीमा प्हरी चौकी निर्माण गर्न कार्यपालिकाबाट निर्णय गराएर सम्बन्धित निकायमा सिफारिश गर्न पत्राचार भएको जानकारी दिए । सोही सिफारिश पत्रको आधारमा मेयर साम्पाङकै अध्यक्षतामा २०८० जेठ १८ गतेको कार्यपालिका बैठकले नौलो बस्तीमा प्रहरी चौकी स्थापनाको लागि सम्बन्धित निकायमा सिफारिश गर्ने निर्णय गरेको जानकारी दिए । 

कार्यपालिकाको उक्त निर्णय पछि नै २०८० जेठ २८ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा उपमहानगरपालिकामार्फत सिफारिश भएको उनले बताए । ‘यो ठाउँमा शान्ति सुरक्षाको लागि प्रहरी चौकी अतिआवश्यक हो, त्यसैले वडाको सिफारिशको आधारमा मेयर हर्क साम्पाङकै अध्यक्षतामा बसेको कार्यपालिका बैठकले प्रहरी चौकी बनाउन सम्बन्धित निकायमा सिफारिश गर्ने निर्णय गरेको थियो,’ वडाअध्यक्ष भट्टराईले भने,‘वडाले आर्थिक बर्ष २०७९/०८० मा १० लाख रुपैया विनियोजन गरेर हाउस पेटी उठाउने काम पनि भइसकेको छ । अहिले आएर एक्कासी काम रोक्नुभयो ।’

wada 16 ko

मेयर साम्पाङले आफुलाई कुनै जानकारी नभएको बताएपनि प्रदेशबाट पत्राचार भएको र ठेक्का पाएको कम्पनीका प्रतिनिधिले पनि भेट्दा काम गर्नु भनेर सहमति जनाएको अध्यक्ष मुरारीको दाबी थियो । ‘उहाँले बहुभाषिक पाठशालालाई असर पर्छ भन्नुभएको रहेछ, तर यहाँ त यो पाठशाला बन्नुअघि नै प्रहरी चौकी बन्न शुरु भइसकेको थियो,’वडाअध्यक्ष भट्टराईले भने,‘यहाँ स्वास्थ्य चौकी पनि छ । स्थानीयलाई स्वास्थ्य, प्रहरी चौकी र बहुभाषिक पाठशालामा कुन छान्नुहुन्छ भनेर सोध्नुभयो भने सबैले प्रहरी चौकी भन्नुहुन्छ । किनभने यहाँ अपराधिक गतिविधि बढेर स्थानीयबासी असाध्यै पिडामा छन् ।’

मेयर साम्पाङले राजनीतिक दलबाट निर्वााचित जनप्रतिनिधिले काम गरेको जस नलिउन् भन्ने उद्देश्यले प्रहरी चौकी रोकेको हो कि भन्ने आशंका पनि वडाअध्यक्ष भटट्राईले व्यक्त गरे । मेयर साम्पाङले प्रहरी चौकी बनिरहेको ठाउँमा शिशाकै अर्के संरचना बनाउने र चौकी सार्ने कुरा गरेको खुलाउदै अध्यक्ष भट्टराईले भने,‘उहाँले प्रहरी चौकी अन्तै लैजाने भन्नुभएको छ तर अन्यत्र कतै ठाउँ नै छैन । चौकी यही बन्नुपर्छ, र यही बन्छ । जनताको चाहना विपरीत कोही पनि जानुहुन्न ।’

wada 16 copy

हाल प्रहरी चौकी अस्थायीरुपमा राखिरहेको र व्यवस्थित स्थायी संरचना (भवन) अभावमा अन्यत्र स्थानान्तरण होला कि भन्ने त्रासमा वडा १६ का बासिन्दा रहेका छन् । प्रहरी वडा १६ मा बस्न थालेपछि स्थानीयलाई मात्र होइन, वडा ११ लाई पनि शान्ति सुरक्षामा सहज भएको अध्यक्ष भट्टराईले बताए । ‘हामीले धेरै पहल गरेर अस्थायीरुपमा प्रहरी चौकी ल्याएका छौं, कुनै कारणले यो सर्यो भने हाम्रो लागि दुर्भाग्य हुनेछ,’ उनले भने,‘त्यसैले पनि यो भवन बनाएर व्यवस्थित र स्थायीरुपमा प्रहरी चौकी यही बसोस्, जनताले अहिले जुनरुपमा शान्ति सुरक्षा महशुस गरेर छन्, त्यो स्थायी होस् भन्ने हो ।’

वडाबासीहरुले पनि मेयर साम्पाङले प्रहरी चौकी निर्माण कार्य रोक्न नहुने धारणा राखे । पत्रकार सम्मेलनमा उपस्थित स्थानीयहरुले अपराधिक गतिविधिले विगतमा आफुहरु हैरान भएकोले नै अस्थायी प्रहरी चौकी माग गरेको पनि बताए । अहिले प्रहरीको उपस्थितिले शान्ति सुरक्षामा धेरै सुधार आएकोले नौलो बस्तीमा प्रहरी चौकी बनाउन मेयर साम्पाङले अवरोध सृर्जना नगर्न उनीहरुले माग गरेका छन् । 

'वडाअध्यक्षहरुले मेयर साम्पाङलाई असहयोग गरेको छैनौं '

murari bhattrai 1

वडा १६ का अध्यक्ष भट्टराईले मेयर साम्पाङलाई वडाअध्यक्षहरुले असहयोग गरेको भन्ने निराधार र भ्रम फैलाएको पनि बताए । उनले कार्यपालिका बैठकमा मेयर साम्पाङले ल्याएका सबै एजेण्डाहरु अनुमोदन गरेको उल्लेख गर्दै भने,‘सामाजिक सञ्जाल र मिडियाहरुमा वडाअध्यक्षहरुले असहयोग गरेको भनेर भ्रम फैलाइएको छ । तर हामीले एउटा पनि बुँदामा असहयोग गरेका छैनौं ।’

घर परिवारमा पनि श्रीमतिसँग सल्लाह हुने भन्दै वडाअध्यक्ष भट्टराईले मेयर साम्पाङसँग एजेण्डामा बहस, छलफल हुँदा विरोध गरेको वा असहयोग गरेको भन्नु गलत बुझाइ भएको बताए । ‘घरमा त श्रीमतिसँग सल्लाह हुन्छ, उपमहानगरपालिकामा हुन नपाउने ?’ उनले भने,‘छलफल हुन्छ, बहस हुन्छ र पो निष्कर्ष निस्कन्छ त । हामीले मेयरलाई डोजर किन्न, साबुन फ्याक्ट्री, बेसार फ्याक्ट्री खोल्न, ट्याक्टर किन्न, सुम्निमा पारुहाङ बनाउन ल्याएको एजेण्डा सबै पास गरिदिएकै छौं ।’

'कर बढाउन दिदैनौं'

वडाअध्यक्ष भट्टराईले आगामी आर्थिक बर्षको बजेटमा कर बढाउन नदिइने पनि बताए । चालु बर्षको बजेटमा भने कर वृद्धि भएको र अन्तिममा राजनीतिक दलहरुको बहुमत छ भनेर दोष लगाएको उनले बताए । ‘पहिला पनि कर बढाउदा दलहरुको बहुमत छ भनियो । यसपाली कुनै हालतमा कर बढाउन दिइदैन, बढ्दैन,’ उनले भने,‘करोडौं राजश्व आम्दानी हुने खोलालाई व्यवस्थित गरेर ठेक्का लगाऔं भन्दा नमान्ने, अनि बजेट छैन भनेर जनतालाई करको भार बोकाउन दिनुहुदैन ।’

अध्यक्ष भट्टराईले शुरुमा मेयर साम्पाङले खोला ठेक्का नलगाउने निर्णय गरेपछि नगरको आयस्रोत घटेको र उक्त कुरा बुझेपछि अर्को बर्ष ठेक्का लगाउने प्रस्ताव ल्याएपनि अस्वीकृत भएको प्रसंग सम्झिए । ‘हिजोको दिनमा बदमासी भयो होला, अब हुन दिनभएन । त्यसको लागि जे जे प्रबन्ध गर्नुपर्ने हो गरौं भन्यौ, तर हामीलाई अनेकन गाली आए,’ उनले भने,‘मेयरले अर्को बर्ष बुझिहाल्नुभयो, विकास गर्न त पैसा चाहिन्छ ।’

खोलाबाट व्यवस्थितरुपमा नदीजन्य पदार्थ ननिकाल्दा बर्षाको बेला खोलाले बग्ने बाटो नपाएर दाँया बाँयाको खेत, बस्ती कटान गरिरहेको पनि उनले बताए । यही खोलाबाट इटहरी र बराहक्षेत्रले ठेक्का लगाएर बार्षिक करोडौं रुपैया आम्दानी गरिरहेको उनले बताए । 

भिडियो: