धरान: धरान वडा नं १६ नौलोबस्ती स्थित अस्थायी प्रहरी चौकी निर्माण कार्य मेयर हर्कराज राई (साम्पाङ)ले रोकेपछि शुरु भएको विवाद थप चर्कदै गएको छ ।
मेयर साम्पाङले बहुभाषिक पाठशालाको मुख्य प्रवेश गर्ने गेटमा बिहिबार ताला लगाउन आदेश दिएपछि निर्माण कार्य ठप्प भएको थियो । त्यसपछि वडा नं १६ का अध्यक्ष मुरारी भट्टराई र स्थानीयबासीहरु आक्रोशित भएका थिए । बहुभाषिक पाठशाला बन्नुभन्दा अघि नै निर्माण कार्य शुरु भएको प्रहरी चौकी त्यही बन्नुपर्ने अडान स्थानीय र वडाअध्यक्ष भट्टराईको रहेको छ ।
यता मेयर साम्पाङ भने बहुभाषिक पाठशाला क्षेत्रबाट चौकी स्थानान्तरण गर्न चाहन्छन् । यद्यपी उनले चौकी कस्तो बन्ने हो भनेर डिपिआर हेर्न चाहेको सामाजिक सञ्जालबाट बताइरहेका छन् । प्रदेश सरकारबाट विनियोजन भएको बजेटबाट काम शुरु हुँदा मेयर साम्पाङले काम रोक्का गरिदिन मन्त्रालयमै पत्राचार गरेपछि स्थानीय र वडाअध्यक्ष आक्रोशित भएका थिए ।
पत्राकार सम्मेलन गरेरै अध्यक्ष भटट्राईले कार्यपालिका बैठकले निर्णय गरेर चौकी बनाउन सिफारिश भएको र १० लाख बजेट पनि लगानी भइसकेकोले चौकी जसरी पनि सोही स्थानमा बनाउने बताएका थिए । अध्यक्ष भट्टराईले चौकीलाई बहुभाषिक पाठशालासँग अलग गराउने गरि कम्पाउण्ड वाल लगाएर भएपनि निर्माण गर्नुपर्ने बताए ।
वृद्ध श्रमदाताबाट बालिकामाथि यौन दुव्यर्वहार भएको आरोप
नगर प्रहरीले बहुभाषिक पाठशालाको गेटमा ताला लगाइदिदा प्रहरी चौकीको काम रोकिएपछि बिहिबार वडाअध्यक्ष र स्थानीयबासीहरु भेला भएका थिए । त्यसक्रममा स्थलगत रिपोर्टिङमा पुगेका मिडियाकर्मीहरु सामु स्थानीय महिलाहरुले एक बालिकामाथि विगतमा श्रमदानको क्रममा यौन दुव्र्यवहार भएको आरोप पनि लगाए ।
श्रमदाताको टिसर्ट लगाएको एक वृद्ध व्यक्तिले अश्लिल व्यवहार गर्दे बालिकालाई बोलाएको स्थानीय महिलाहरुको भनाई छ । बालिकालाई बोलाएर लैजादा ठुलो बुबाले देखेपछि ती वृद्ध भागेको पनि उनीहरुले बताए । घटना बहुभाषिक पाठशालाको ग्याबियन लगाउन श्रमदान भइरहेको बेलाको भएको पनि उनीहरुको भनाई छ । ‘म आफै दौडिएर आएर समाते । लाट्ठी टेकेर जादै थियो,’मिडियाकर्मीहरुलाई ती महिलाले भनिन्,‘हामीले पुलिस बोलाउनुपर्छ भन्दा गल्ती भैहाल्यो, छोडदिउ भन्यो । एक जना युट्युबरले पनि छोड्दिनु भन्यो ।’
वडा १६ का अध्यक्ष भट्टराईले पनि उक्त घटना भएको तर आफुलाई श्रमदान भाड्छ भन्ने आरोप आउने भएकोले चुप लागेको बताए । उनले भने,‘त्यो घटना लुकाईदिएकै हो । मलाई भाड्यो भनेर आरोप लाग्छ भनेर म खोलैखोला गए । मिडियाले पनि किन बाहिर ल्याएन त्यो घटना ?’
यो आरोपबारे मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिदै प्रमाणित गरे कारबाही गर्ने बताएका छन् । ‘हिजो १६ को एक महिलाले निक्कै पहिले लट्ठी टेक्दै आउने बुढो मान्छेले यौन दुव्र्यवहार गर्यो भन्ने आरोप लगाएको सुनेँ, को रैछ प्रमाणित गर्नुहोला । म कारबाही गर्छु,’ मेयर साम्पाङले लेखेका छन्,‘तर होइन रैछ भने सार्वजनिक माफी मागेर कस्ले त्यसो भन्न लाको हो त्यो बाहिर ल्याइदिनुपर्छ ।’
भिडियो: