धरान: धरान उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । एक सातायता दैनिक जसो नै सरोकारवालासहित उपमहानगरपालिकाले अनुगमन गरिरहेको छ । 

धरानमा डेंगुको महामारी फैलिएसँगै जुस, नरिवल, फलफुलको मुल्य आकासिएको गुनासो आम उपभोक्ताहरुले गरेका थिए । यस्तो गुनासो पछि उपमहानगरले फ्रेस जुस पसलहरुको अनुगमन गरेर मुल्य सुची राख्न, नरिवल १ सयभन्दा बढीमा नबेच्न, पसल सफा राख्न निर्देशन दिएको थियो । त्यसयता, किराना र खाद्यान्न पसलहरुको पनि अनुगमन गरेको उपमहानगरले आज (मंगलबार) भने केही स्कुलहरुको क्यान्टिन र पाउरोटी, बेकरी उद्योगहरुको पनि अनुगमन गरेको थियो । 

bajar anugaman2


उपमहानगरका अनुमगन अधिकृत वेदप्रसाद सापकोटाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी वादल चेम्जोङ, इलाका प्रशासन कार्यालय धरानका प्रतिनिधि, सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधि, इलाका प्रहरी कार्यालय धरानका प्रतिनिधि र पत्रकारको टोली अनुगमनमा सहभागी थिए । धरान १७ स्थित बीच घोपामा सडकबाटै धरान १५ श्यामचोकमा रहेको शाक्य चिप्सको लेवल विनाको सामान अनुगमन समितिले जफत गरेको थियो भने धरान १५ स्थित एक घरमा अनुमतिविना उत्पादन भइरहेको कुरकुरे पनि जफत गरेको थियो ।  

पाउरोटी र बेकरी उद्योग असाध्यै फोहोर

bajar anugaman


अनुगमन टोलीले धरान १७ लोकप्रिया मार्गस्थित गणेश पाउरोटी उद्योग र धरान ११ स्थित अनेष बेकरी उद्योगमा अनुगमन गरेको थियो । गणेश पाउरोटी उद्योग ज्यादै फोहोर भेटिएको अनुगमन टोलीले जानकारी दिएको छ । साथै, उक्त उद्योगसँग उत्पादन र म्याद सकिने मितिसहितको लेवल पनि तत्काल नभेटिएको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । 

उक्त पाउरोटी उद्योगसँग दर्ता अनुमति, खाद्य अनुज्ञा पत्रलगायत सबै कागजपत्र रहेको तर सरसफाईमा ध्यान नदिएको भेटिएको पनि सापकोटाले बताए । तेल पनि पुरानो पुनः प्रयोग गरेर अखाद्य भइसकेकोले फाल्न लगाइएको थियो । ‘उत्पादनस्थल ज्यादै फोहोर देखियो, त्यसैले सफा गर्न निर्देशन दिएका छौं,’उनले भने,‘उत्पादनको काम तत्काल बन्द गरेर पुर्णसरसफाई गर्ने र त्यसको तस्बिर लिएर २ दिनपछि उपस्थित हुन निर्देशन दिएका छौं । लेवल विना बजारमा उत्पादन नपठाउन र बजारमा लेवल विना पठाएको सामानहरु पनि फिर्ता गर्न भनेका छौं ।’

bajar anugaman1


यसैगरि, धरान ११ स्थित अनेष बेकरी उद्योग पनि ज्यादै फोहोर भेटिएको अनुगमन समितिले जनाएको छ । उक्त उद्योगलाई पनि सरसफाई गरेर तस्बिरसहित एक साताभित्र उपमहानगरपालिकामा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ । उत्पादन भइसकेको सामान लेवल विना बजारमा नपठाउन उद्योग सञ्चालिकालाई निर्देशन दिएको सापकोटाले जानकारी दिए । साथै, उद्योग दर्ता नवीकरण नगरिएकोले एक साताको समय दिइएको पनि उनले बताए । 

भिडियो: