धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्माले निमित्त उपकुलपतिको जिम्मेवारी पनि पाएका छन् ।
बैशाख ४ गते प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा.शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेका थिए । उक्त निर्णय पश्चात शिक्षाध्यक्ष डा.शर्माले आइतबार (हिजो)देखि नै कार्यभार सम्हालिसकेका छन् । चैत २६ गते डा.ज्ञानेन्द्र गिरीको कार्यकाल सकिएपछि प्रतिष्ठान उपकुलपतिविहिन भएको थियो ।
प्रतिष्ठानका अनुसार शिक्षाध्यक्ष प्रा.डा.शर्मालाई नयाँ उपकुलपति नियुक्ती नभएसम्मको लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ । शिक्षाध्क्ष शर्माले यसअघि पनि निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिसकेका थिए । जिम्मेवारी दिदा निमित्त भनिएपनि उनलाई कार्यवाहक सरह नै शैक्षिक, आर्थिक र प्रशासनिक जिम्मेवारी दिइएको छ ।