धरान: पाथीभारा दर्शनको लागि जाँदै गरेको बोलेरोमा आज बिहान बिजुकीको तार झरेर करेन्ट लागेर आगलागी हुदा ४ जनाको ज्यान गएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिकामा १० स्थित काफ्लेपाटी सडक खण्डमा उक्त घटना भएको हो ।  प्रहरीका अनुसार फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लागेको थियो।

प्रहरीका अनुसार मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापाकी वर्ष ६९ की सरिता पौडेल र झापाकै वर्ष ७० का विनोद पौडेल रहेका छन् ।

गाडीमा ६ जना सवार रहेका थिए । ती मध्ये ललितपुरकी ४५ बर्षीय सविना आचार्य र उनका छोरा अभियम आचार्य घाइते छन् । दुवैलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यसैबीच, उक्त घटनामा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुःख व्यक्त गरेका छन् । उनले निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । साथै घाइतेहरूको घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि मुख्यमन्त्री कार्कीले गरेका छन् ।

मुख्यमन्त्री कार्कीले घटनामा घाइते भएकाहरूको थप उपचारको लागि काठमाडौँ लैजाने प्रयत्न भइरहेको जानकारी समेत दिएका छन् । उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।