धरान: नेपालकै सर्वाधिक धावकधाविकाहरु सहभागी हुने दौड प्रतियोगिता मध्ये एक धरान १० के. रन १३ औं नेवा च्यारिटी २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ ।
आयोजक धरान रन समुहले शुक्रबार पत्रकार सम्मेलन गर्दै करिब ४ हजारले दौडमा सहभागिताको लागि नाम दर्ता गराएको जानकारी दिएको छ । दौड बिहान ठिक साढे ७ बजे पुतलीलाइनबाट शुरु हुनेछ, र विभिन्न चोक हुदै भानुचोकमा आएर समापन हुनेछ । धरान रनले च्यारिटी प्रतियोगिताबाट संकलिन रकम अपांग, असहाय, महिला, बालबालिकाको स्वास्थ्य र शिक्षाको लागि स्थापना गरेको कोषमार्फत सहयोग गर्दै आएको छ ।
आयोजकका अनुसार दौड प्रतियोगितामा चिप टाइमिङ सिस्टम प्रयोग गरिनेछ । धावकधाविकाको जुत्तामा लगाइने चिप सिस्टमले सही दौड समय मापन हुनेछ । प्रतियोगितामा १६ देखि ३९ बर्षसम्म ओपन क्याटगोरी हुनेछ, जसको विजेताले नगद ६० हजार, दोस्रो हुनेले ४० र तेस्रो हुनेले ३० हजार नगद पुरस्कार पाउनेछन् । यो पुरस्कार महिला र पुरुष दुवै विधाका विजेताले पाउनेछन् ।
प्रतियोगितामा १२ बर्षमुनि समुहको अण्डर १२ को महिला र पुरुष विजेता, १२ देखि १५ बर्ष भित्रको अण्डर १६ समुहका महिला र पुरुष तर्फका विजेता, ४९ बर्षदेखि ५९ बर्ष समुहको मिड भेट्रानका महिला र पुरुष विजेताहरुले क्रमशः प्रथम ७ हजार, दोस्रो ५ हजार र तेस्रो ३ हजार नगद पुरस्कार पाउनेछन् । साथै, ४० बर्षदेखि ४९ बर्षसम्मको भेट्रान समुहका महिला र पुरुषतर्फका विजेताले जनही १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पाउनेछन् । ६० बर्षमाथिका सुपर भेट्रान समुहमा पुरुष र महिला प्रथम हुनेले नगद ५ हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा स्थानीय रनरहरुलाई प्रोत्साहन स्वरुप आकर्षक पुरस्कार दिइने पनि आयोजकले जनाएको छ । यस्तै, विगतमा झै यो सँस्करणमा पनि ह्विलचियर रेस हुने संस्थापक अध्यक्ष सन्तोष राईले जानकारी दिए । धरान १० के रन धरानको गौरव र पर्यटनसँग पनि जोडिएकोले कार्यक्रम अवधि बिहान ६ बजेदेखि ९ बजेसम्म दौडको रुटमा सवारीसाधन नचलाइदिन वा डाइभर्जन रुट प्रयोग गरिदिन पनि उनले आग्रह गरे ।
धरान रनले विगतको सँस्करणहरुबाट संकलित रकम नेवा एजुकेशन फण्डमा जम्मा गरेर १३ लाखको कोष बनाएको छ । उक्त फण्ड अन्तर्गत सामुदायिक विद्यालयका १३ जना जेहेन्दार विद्यार्थीहरुलाई दिदै आएको छात्रवृत्ति निरन्तरता दिइने पनि धरान रनले जनाएको छ ।
यस्तै छ धरान रनको रुट:
पुतलीलाइन→ देशीलाइन→ पुरानो बजार→ पिण्डेश्वर मन्दिर→ विजयपुर चोक→ हात्तिसार क्याम्पस → रेडक्रस भवन → अमरहाट कभर्ड हल → जिरो पोइन्ट→ जानकी चोक→ धरान रंगशाला→ गणेशमान चोक→ पानी टंकी→ कल्याण चोक→ मंगलबारे→ रत्न चोक→बुद्ध चोक→दुर्गा चोक हुदै पुतलीलाइन→ भानुचोकमा समापन ।