धरान: स्ववियु चुनाव अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस धरानमा अनेरास्ववियु र नेविसंघ गठबन्धनबाट सभापति उम्मेदवार प्रशान राईले निरन्तर अग्रता लिएका छन् ।
पछिल्लो मतगणनाको सार्वजनिक परिणाम अनुसार उनले निकटतम प्रतिद्वन्दी समाजवादी विद्यार्थी युनियनका युवराज राईलाई झन्डै दोब्बर मतले पछि पारेका छन् । निर्वाचन समितिका अनुसार ९३२ मतगणना हुदा प्रशानले ५७० मत पाएका छन् भने युवराजले २७६ मत पाएका छन् । अखिल क्रान्तिकारीका उम्मेदवार तेजबहादुर राईले ५९ मत पाएका छन् ।
यस्तै, सचिवमा पनि गठबन्धनबाटै पवन बस्नेत ५४६ मतका साथ अग्रतामा छन् भने कोषाध्यक्षमा पनि गठबन्धन उम्मेदवार आलोक लिम्बु ५७५ मत पाएर अगाडि छन् । सचिवमा समाजवादी उम्मेदवार विनिता लिम्बू २९४ मत पाएर गठबन्धन उम्मेदवारलाई पछ्याउँदै छिन् भने कोषाध्यक्षमा समाजवादीका जितेन दुमी राई २४८ मतले पछ्याइरहेका छन् ।
हिजो भएको मतदानमा महेन्द्र क्याम्पसमा २१५० मत खसेको थियो । यसैगरी, केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार र पुर्वान्चल इन्जिनियरीङ क्याम्पस तीनकुनेमा पनि मतगणना जारी छ । हात्तिसारमा ७८५ मत खसेको थियो भने इन्जिनियरीङमा १९८४ मत खसेको थियो ।