धरान: परिवर्तनका लागि सामाजिक अभियानद्वारा आयोजित निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ७६ औं संस्करण आइतबार प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर मन्दिरमा सम्पन्न भएको छ । 

पिण्डेश्वर बाबाधाम समितिको सहकार्यमा आयोजित उक्त शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. प्रशान्त शाहले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको लागि आयोजित उक्त शिविरमा औषधी, रक्तचाप र मधुमेह परिक्षण समेत निःशुल्क रुपमा गरिएको समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिए । डा. शाहसँगै वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनियर स्टाफ नर्स निर्मला बास्तोला र रेनुका खड्काले रक्तचाप र मधुमेह परिक्षण गरेका थिए । 

कार्यक्रममा अभियानका अभियन्ताहरु शुसिर बराल, जेनिस शाक्य, हेम ढकाल, राजु फुयाल, नितु यादव, सोनी यादवको सहभागिता रहेको थियो । उक्त शिविरमा ११५ जना बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षण गर्न आएका बिरामीहरुले निःशुल्क रुपमा सहजतामा उपचार गराउन पाउँदा खुशी व्यक्त गरे । कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि एवं धरान वडा १४ का वडाध्यक्ष कृष्ण भट्टराईले आफ्नो वडामा कार्यक्रम आयोजना गरेकोमा आयोजकप्रति आभार प्रकट गरेका थिए । उक्त शिविरको ७७ औं संस्करण यहि चैत्र ३० गते आयोजना हुने अभियानले जनाएको छ । 

समुदायमा निःशुल्क उपचार गर्न पाउँदा हर्षविभोर हुन्छु: प्रा. डा. शाह

dr prashant shah

वरिष्ठ मुटु रोग बिशेषज्ञ डाक्टर शाहले विगत ४ वर्षदेखि सामाजिक स्वास्थ्य क्लिनिकमा निःशुल्क स्वास्थ्य जाँच गर्न पाउदा आनन्दित महशुस गर्ने बताएका छन् । “विभिन्न ठाउँका, भिन्नाभिन्नै स्तरका बिरामीहरुलाई निःशुल्क जाँच गर्न पाउँदा हर्षविभोर हुन्छु,” डा. शाहले भने ।

डा. शाहले परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ४ वर्षदेखि निरन्तर पाक्षिक रुपमा आयोजना हुने सामाजिक स्वास्थ्य क्लिनिकमा उपचार गर्दै आईरहेका छन् । उक्त शिविरमा ६० वर्षभन्दा माथिका मुटु, रक्तचाप र मधुमेहका बिरामीहरुको निःशुल्क रुपमा स्वास्थ्य जाँच, औषधी वितरण र सुगर, रक्तचाप परिक्षण पनि पनि हुने गर्दछ । 

हालसम्म करिब ७५०० बिरामीहरुको उपचार गराईसकेको उक्त अभियानका अध्यक्ष विष्णु बरालले जानकारी दिए । उनका अनुसार धरानका विभिन्न वडाहरुमा र धरान बाहिर बराहक्षेत्र, झुम्का, इनरुवा, इटहरी र पूर्वको झापा गाउँपालिकामा समेत यो शिविर आयोजना भईसकेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नर्सहरु र अभियानका अभियन्ताहरु पनि यस क्लिनिकमा सहभागी हुने गर्दछन् । उक्त शिविरमा धरान बाहिरका विरामीहरु समेत सहभागि हुने गर्दछन् ।